-प्रियराज रेग्मी
कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन सरकारले गरेको निर्णय, आमव देशबासीले सरकारको निर्णयमा दिएको साथ, समर्थन र अनुशासित परिपालना र भगवानको अनुपम कृपाले नेपालमा कोभिड १९ संक्रमण न्यून मात्र देखिनु तथा संक्रमण देखिएकाहरूको स्वास्थ्य अवस्था सामान्य (सुधारउन्मुख) रहनु नेपाल र नेपालीको लागि शुभ नै मान्नु पर्दछ । आउँदा दिनहरूमा पनि राज्यको थप प्रभावकारी कदम र भगवानको कृया अपेक्षित नै छ।

बन्दाबन्दी लागू गरेको २३ दिन र त्यसभन्दाअघिको आठ दश दिन जोड्दा एक महिना भन्दा बढी समय अत्यावश्यक सेवा र क्षेत्रका अति कम(सीमित) काम र आर्थिक गतिबिधि मात्रमा सीमित हुँदा राज्य तथा निजी क्षेत्रले ठूलो क्षति व्यहोरिसकेको तथा न्यून आएका भएका ज्याला मजदूरी गरी जिविको पार्जन गर्नेहरूको दैनिकी असाध्य कष्टपूर्ण भईसकेको छ र बन्दाबन्दीको अवधि बढ्दै गएमा यो अवस्था झनै खराब हुने निश्चित छ ।

देशमा आम नागरिकलाई रोगको संक्रमणबाट बच्न र बचाउन पर्ने अवस्था कायम राख्नु अपरिहार्यता एकातिर छँदैछ भने अर्कोतिर अर्थतन्त्रमा थप क्षति समेत हुन नदिन सावधापूर्वक सकेसम्म अर्थतन्त्र चलायमान बनाउन पनि सोच्नु पर्दछ ।अर्थतन्त्रलाई पुनर्जागरण गर्न देशको आन्तरिक क्षमता कमजोर छ, विदेशी, छिमेकी र दातृ निकायबाट सहयोग पाउने सम्भावना पनि कमै छ ।

त्यसैले सरकारबाट निर्णय भई कायम रहेको बन्दाबन्दीको समयसम्म भगवानका कृपाले देशमा संक्रमितको संख्या नबढेमा वा कथम्कदाचित थप २ ४ थप व्यक्ति(न्यून) मात्रमा मात्रै संक्रमण देखिएमा तपिसलमा उल्लेखित सावधानी अपनाउँदै पूर्ण बन्दाबन्दीको साटो आंशिक रूपमा बन्दाबन्दी कायम राखी कामधन्दा पनि सुचारु गर्न गर्दा फलदायी हुनसक्ला । 

आंशिक रूपमा बन्दाबन्दी खोल्दा अपनाउनुपर्ने सवधानीका केही उपाय यस्ता हुनसक्नछन्:
१.अन्तर्राष्ट्रिय उडान स्थगितको अवस्थालाई कायमै राख्ने
२.स्थलमार्गबाट हुने बिदेशी नागरिकहरुको आवतजावत पूर्ण रुपमा बन्द गर्ने, तर राज्यले आफ्ना नगरिकप्रतिको उत्तरदायीत्व निभाउँदै कम्तीमा पनि भारतमा संकट र आश्रयबिहीन भई बसेका नेपाली नागिरकहररूलाई उद्दार गरी सुरक्षित यात्रा र स्वास्थ्य प्रबन्ध गर्ने।
३.कम्तीमा विगत २ महिनादेखि भारत लगायत बिदेशबाट आएका ब्यक्तिहरू तथा उनीहरूका परिवारका सदस्यहरू तथा उनीहरुसँग प्रत्यक्ष रुपमा संसर्गमा भएका व्यक्तिहरु, दीर्घरोगी र ६० वर्ष नाघेका आमाबुबाहरू आआफ्नो घरमा सेल्फ क्वारेन्टाइन वा सरकारले तोकेको स्थानमा अनुशासित भई बस्ने, बस्न लगाउने र संक्रमणको सम्भावना भएका ब्यक्तिहरूको परिक्षण र पुनः परिक्षण द्रूत गतिमा गर्ने र गराउने 
४.देशभित्रको अन्तरप्रदेश मानव आवतजावतलाई कडा गर्ने वा निरूत्साहित गर्ने (रोजगारीमा रहेका मानिसहरूभन्दा बाहेक), अत्यावश्यक भन्दा बाहेकको यात्रामा प्रतिबन्ध लगाउने
५.स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप स्वास्थ्य सुरक्षा प्रदान गरी मनोवल उच्च बनाउँदै काम गर्ने वातावरण बनाउने
६.धार्मिक, व्यवसायिक, सांस्कृतिक तथा सामजिक कार्यहरूमा हुने भिडभाडको बन्देजलाई यथावत राख्ने
७.कामधन्दामा निस्कने ब्यक्तिहरू सचेत भई कमसेकम माक्स, पञ्जा, चश्मा, भाईजर लगाएर ब्यक्ति ब्यक्ति बीचको भौतिक दूरी कायम गरी काम गर्ने, सेवा प्रदान गर्ने

उपरोक्त बमोजिम लगायतका अन्य थप केही सावधानीका उपायहरु अपनाई रोग संक्रमणबाट बच्दै र बचाउँदै अर्थतन्त्रलाई थप क्षति हुनबाट बचाऊँ ।

सबैले इमानदारीपूर्वक आ आफ्नो दायीत्व र जिम्मेवारी निर्वाह गरौं ।

(लेखक स्टक ब्रोकर हुन् ।)