काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले १ महिनाभित्र नयाँ वेबसाइट लञ्च गर्ने भएको छ ।
लञ्च गर्ने तयारीमा रहेको नयाँ वेबसाइटमा सबै सरोकारवाला पक्षहरुबाट हाल सुझाव लिने कार्य जारी भएको नेप्सेले जनाएको छ ।
नेप्सेको सीइओ चन्द्रसिंह साउदले अब १ महिनाभित्रै नयाँ वेबसाइट लञ्च गर्ने तयारी भइरहेको जानकारी दिए । नयाँ वेबसाइटका विषयमा धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षलाई रायसुझाव दिन उनले आग्रहसमेत गरे ।
पछिल्लो समय पुरानो वेबसाइट कहिलेकाहीँ नचल्ने समस्या रहेको र भर्खरै सर्भर थपेकाले अब समस्या नआउने सीइओ साउदको दाबी छ ।
यता, आइटी जानकार र लगानीकर्तासमेत रहेका ऋषिराम गौतमका अनुसार सेयर मार्केटमा लामो समय स्क्रिनमा हेर्नुपर्ने भएकाले सबै उमेर समूहका ब्यक्तिको लागि डार्क ब्याकग्राउण्ड भएको सफ्टवेयर संसारभर नै प्रचलित रहेको छ । ‘नेप्सेले पनि ब्याकग्राउण्ड थिम छान्न मिल्ने बनाइदिए कति राम्रो हुन्थ्यो । डार्क थिम मन पर्नेले डार्क राख्थे, सेतो मन पर्नेले सेतो । सेतो स्क्रिन लगातार हेर्नु आँखाको लागि घातक हो ।’ गौतमले भने–‘तर अहिले त नेप्सेले भएको हरियो लाइन पनि दुई कोलममा सीमित गरिदिएछ, जसले गर्दा हेर्न झनै असहज बनाइदिएको छ ।’
लगानीकर्ता आँखामा असर पर्ने तर्क गरेका गौतम थिम छान्न मिल्ने अप्सन राख्नु प्रोगामरको लागि ठूलो समस्याको काम पनि नभएको बताउँछन् । ‘एउटा अलग सीएसएस फाइल बनाउने र छान्न मिल्ने अप्सन राख्ने मात्र काम हुन्छ कुनै ठूलो प्रोग्रामिङ गर्नु पर्दैन ।’उनले भने ।
यसैगरी मार्केट डेफ्थ हेर्ने बटन, लाइभ मार्केट हेर्ने बटन भनेको धेरैले प्रयोग गर्ने र सधै चाहिने बटन हो त्यो बटनको इजि एक्सेस हुने गरी नयाँ वेबसाइट बनाइनुपर्नेमा उनको जोड छ ।
‘बेटा भर्सनको वेबसाइटको लाइभ पेजमा जाँदा मार्केट घटेको वा बढेको देखाउने इन्डेक्स नै आउँदैन, जुन देखिनु अति जरूरी छ।’ गौतमले सुझाउँदै भने–‘अहिले चार्ट मात्र राखिएकोे छ जसमा इन्डेक्स थप्नुपर्ने जरूरी छ ।’
‘यस्तै कम्पनीको कोडमा माउस लगाउँदा पूरा नाम देखिने पनि कहिले कता देखिन्छ, कहिले कता, कहिले देखिँदै देखिन्न, त्यो पनि मिलाउनु आवश्यक छ।’ गौतमले थपे ।
मोबाइलमा लाइभ मार्केट हेर्दा दाँया बाँया सेतो भाग धेरै देखिन्छ, तर वास्तविक हेर्नु पर्ने कम्पनीको ट्रेडिङ डिटेल छोपिने उल्लेख गर्दै गौतमले भने–‘मोबाइलमा वाइड भ्यू हेर्दा पनि ठाउँ हुँदा हुँदै पनि डाटा छोपिन्छ जुन सुधार गर्नु पर्ने देखिन्छ ।’
नेप्सेको आफ्नो सूचना तथा कर्पाेरेट सूचनाहरू अटो स्क्रोल सिस्टम बनाइएको छ, जुन राम्रो नभएको गौतमको बुझाइ छ । नयाँ आएको सूचना माथि देखिने अनि पुराना तल जाने गरी हुनुपर्छ र करिब १० वटा लेटेस्ट सूचना फ्रन्ट पेजमा देखिने र बाँकी हेर्नका लागि ‘सी मोर’ भन्ने अप्सन राखी अर्काे पेजमा गएर सबै पुराना सूचना पनि हेर्न मिल्ने हुनु पर्छ । कुनै पनि सूचना हट्नु हुन्न, पछि पनि हेर्न मिल्ने हुनुपर्छ ।’
यस्तै टप गेनर, टप लुजर, टर्नओभर, भोलुम जस्ता डाटा कमसेकम १० वटा कम्पनीको देखिने हुनुपर्ने उनको ठहर छ ।
हाल नेप्सेले ३ वटा साइटबाट दोस्रो बजार बारेमा जानकारी दिइरहेको छ । पहिलो डब्लूडब्लूडब्लू डट नेपाल स्टक डट कम डट एनपी, दोस्रो डब्लूडब्लूडब्लू डट नेपाल स्टक डट कम र तेस्रो बेटा भर्सनका रुपमा रहेको न्यूवेब नेपाल स्टक डटकम डट एनपी रहेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago