काठमाण्डौ। अस्ट्रेलियामा एकजनालाई कोरोना संक्रमण देखिएपछि करिब २० लाख मानिसलाई कडा लकडाउन लगाइएको छ।

अस्ट्रेलियाको पर्थ (पश्चिनी अस्ट्रेलियन राज्यको राजधानी) मा एकजना मानिसलाई कोरोना संक्रमण देखिएपछि त्यहाँका २० लाख मानिसमाथि सोमबारदेखि कडा लकडाउन लगाइएको हो।

एकजनालाई संक्रमण देखिएकोमा अहिलेसम्म थप अरु कसैलाई पनि संक्रमण भने देखिएको छैन। 

पर्थका सरकारी अधिकारीहरुले विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई सुरक्षा प्रदान गर्दै आइरहेका एकजना सुरक्षागार्डलाई कोरोना संक्रमण देखिएपछि पाँच दिनको लकडाउनको निर्देशन दिएका छन्। 

राज्य सरकारले ती सुरक्षागार्डको नजिकको सम्पर्कमा आएका ६६ जना रहेको र तीमध्ये १३ जनाको परीक्षण गर्दा नेगेटिभ देखिएको र ११ जना उच्च जोखिममा रहेकालाई भने थप सावधानीका लागि क्वारेन्टिनमा राखिएको जनाएको छ। नजिकको सम्पर्कमा आएका अन्यको भने सोमबार परीक्षण गरिनेछ। 

अस्ट्रेलियाले कोरोना महामारीलाई नियन्त्रणमा राख्न सफल भएको देखिएको छ। अस्ट्रेलियाले संक्रमणका केसहरुको संख्यालाई २९ हजार र मृत्युलाई ९०९ मा सीमित राखेको छ।

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप अभियान यही महिनादेखि सुरु हुन गइरहेको छ। प्रधानमन्त्री स्कट मोरिसनका अनुसार खोप अभियानको कुल मूल्य ६.३ बिलियन अस्ट्रेलियन डलर (४.८ बिलियन अमेरिकी डलर) हुनेछ। 

अस्ट्रेलियाले आफ्ना २ करोड ६० लाख जनसंख्याको खोपका लागि ४.४ बिलियन अष्ट्रेलियन डलर खर्च गर्ने जनाइसकेको छ। तर प्रधानमन्त्री मोरिसनले रोल आउटका लागि अतिरिक्त १.९ बिलियन अस्ट्रेलियन डलर खर्च गरिने बताएका छन्। – एजेन्सी