काठमाण्डौ । लगानीकर्ताहरुको दवाब समूहले जारी आमरण अनसन तोडेको छ।

यो समूहले रिले अनसन थालेको ११ औं दिन र आमरण अनसनको चौथो दिन अनसन तोडेको हो । 

पूँजीबजार बिस्तार र सुधारसहित अर्थमन्त्रीको राजीनामा माग्दै यो समूहले आन्दोलन थालेको थियो । एघार दिनअघिदेखि रिले अनसन सुरु गरेको समूहलाई अर्थमन्त्रालयले वार्तामा बोलाएको थियो । दुईवटा वार्तामा बसेपछि यो समूहले आफूहरुमाथि धोका भएको भन्दै सोमबारदेखि आमरण अनसन थालेको थियो । 

आमरण अनसनमा दवाब समूहका संयोजक हरि ढकाल र तिलक कोइराला सहभागी थिए । उनीहरुले आमरण अनसन थालेको चौथो दिन बिहीबार एकअर्कालाई पानी खुवाएर तोडेका हुन् । 

यसअघि बुधबार अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको थियो । प्रतिवेदनमा यो समूहले उठाउँदै आएका अधिकांश माग सम्बोधन भएका छन् । यसले समेत यो समूहलाई अनसन तोड्न प्रेरित गरेको हो ।

तर, अनसन तोडेपछि लगानीकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा अनसनकारीहरुले सरकारी प्रतिवेदनमा बजारका लागि अमृत मात्र नभई विष पनि रहेको भन्दै आफूहरुले बजार विकास र बिस्तारको मुद्धामा खबरदारी नछाड्ने उद्घोष गरेका छन् । 

‘हाम्रो उद्देश्य सेयर बजारको विकास र बिस्तार होस् भन्ने थियो । योभित्रका समस्याको समाधान होस् भन्ने थियो ।’ अनसन तोडेपछि हरि ढकालले भने–‘शान्तिपूर्ण आन्दोलनको बाटो रोज्दा हामीलाई अराजक भनियो, तर प्रतिवेदनमा समेटिएका बिषय कार्यान्वयन नभए म फेरि माफियाहरुको काल बनेर आउँछु, म बारुद बनेर आउँछु ।’ 

अर्का अनसनकारी तिलक कोइरालाले आफूहरु पनि नेकपाकै कार्यकर्ता भए पनि सरकारको गलत रबैयाका कारण दुःख पाएको गुनासो गरे । अर्थमन्त्रीलाई ‘मूर्ख’को संज्ञा दिंदै उनले केही बिचौलिया र माफियाहरुले पूँजीबजारबाट लुट्न मात्र चाहेका र आफूहरुले यही प्रवृतिविरुद्ध लडाईको सुरुवात गरेको दाबी गरे । ‘सबै लगानीकर्ता संगठित भएर लडाई लडौं अब ।’ उनले भने–‘हामी यत्रो दिन अनसन बस्दा समेत सरकारी अधिकारी आएर सोधपुछसम्म गरेनन्, तर हाम्रो कुनै गुनासो छैन । किनभने यो राज्य निर्दयी हो । यो राम्रा मान्छेलाई सूली चढाउने देश हो ।’