काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को अवितरित हकप्रद सेयर खरिदका लागि परेको लगानीकर्ताको रकम फिर्ता गरिने भएको छ। 

गत फागुन १ गतेबाट फागुन १५ गतेसम्म एचआईडीसीएलको संस्थापक समूहको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद सेयर लिलामीमा राखिएको थियो। तर, नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनमा गत फागुन १३ गते एचआईडीसीएलको अवितरित हकप्रद सेयरको लिलामीमा स्थगित गरिएको थियो।

अवितरित हकप्रदको लिलामी सूचना प्रकाशित गर्दा अस्पष्ट भएको भन्दै हाललाई स्थगित सेबोनले निर्देशन दिएको थियो। सेबोनले पत्र पठाउँदै यो लिलामी सेयर कुन समूहमा कसरी कारोबार हुन्छ भन्ने सूचनामा स्पष्ट नभएकोले हाललाई लिलामी बढाबढमार्फत बिक्री गर्ने कार्य स्थगित गर्न निर्देशन दिएको थियो। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज फागुन ४ गतेबाट लगानीकर्ताको सक्कलै बोलपत्रसँगै रकम फिर्ता गर्न लागेको हो।

बोलपत्र फिर्ताका लागि कम्पनीले तोकेको ढाँचामा निवेदन दिनुपर्नेछ। त्यसका साथ बोलपत्र दर्ता गर्दाको सक्कल दर्ता रसिद र नागरिकता वा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रुपमा पेस गर्नुपर्नेछ। 

सक्कलै शिलबन्दी बोलपत्र बोलपत्रवालालाई फिर्ता गरिने कम्पनीले जनाएको छ। बैंक भौचर वा आईपीएसमार्फत रकम जम्मा गरेका बोलपवालाहरुको हकमा सम्बन्धित बोलपत्रवालाले रकम फिर्ता पाउनका लागि कम्पनीले तोकेको ढाँचामा सक्कलन बैंक भौचर वा आईपीएसको स्टेटमेन्ट राखी निवेदन दिनुपर्नेछ। 

निवेदनको आधारमा बोलपत्रवालाको रकम निष्कासन बैंकको खातामा जम्मा भएको यकिन गरेपश्चात बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलिपल्ट जम्मा गरिने कम्पनीले जनाएको छ। 

गुड अफ पेमेन्ट चेकमार्फत बोलपत्र पेस गरेका बोलपत्रवाहरुको हकमा उक्त गुड अफर पेमेन्ट चेक रद्द गर्नका लागि उक्त चेक संलग्न गरी निवेदन दिनुपर्नेछ। उक्त निवेदनका आधारमा चेक जारी गर्ने सम्बन्धित बैंकको नाममा चेक क्यान्सिलेसन लेटर उपलब्ध गराइने कम्पनीले जनाएको छ।  

केही समयअघि बिजशालासँग कुरा गर्दै एचआईडीसीएलका प्रवक्ता जीवनकुमार बस्नेतले संस्थापक सेयर लिलामीपछि संस्थापक समूहअन्तर्गत उपसमूह क–२ को अन्य संस्थापकमा रहने र नेप्सेमा सहजै खरिदबिक्री गर्न सकिने बताएका थिए।