काठमाण्डौ । दोश्रो बजारमा कारोबार राफसाफको चक्रलाई घटाएर टी प्लस टू कायम गरिएसँगै खुल्लामुखी म्युचुअल फण्डमा पनि यही चक्र लागू हुने भएको छ । 

खुल्लामुखी म्युचुअल फण्डको आधारशीला तयार गरी आक्रामक बजार बिस्तार गरिरहेको एनआइबिएल एस क्यापिटलले यस्तो व्यवस्था गरेको हो । 

यो कम्पनीको एनआइबिएल म्युचुअल फण्डअन्तर्गत एआइबिएल सहभागिता फण्ड नामको खुलामुखी योजना संचालन गर्दै आएको हो । यी योजनाका इकाईहरुको राफसाफ तथा फछ्र्यौट प्रणाली हालसम्म टी प्लस थ्री नै रहेको थियो । 

तर, दोश्रो बजारको राफसाफ चक्र नै घटाएर टी प्लस टू कायम गरिएसँगै यही अभ्यासलाई पछ्याउँदै क्यापिटलले आफ्नो खुल्लामुखी फण्डका इकाईहरु पनि माघ १४ गते(आज)देखि टी प्लस टू प्रणालीमै राफसाफ हुने प्रष्ट पारेको हो । 

यस्ता फण्डका इकाईहरु बन्दमुखी फण्डको जस्तो दोश्रो बजारमा कारोबार हुँदैनन् । खुल्लामुखी फण्डका इकाईहरु इकाई धनीले क्यापिटल तथा उनीहरुको बिक्री एजेण्टमार्फत खरीदबिक्री गर्न सक्छन् ।