काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’ का इकाइ निष्कासन तथा बिक्री खुला अवधि तीन दिन थप गरिएको छ । जसअनुसार अब लगानीकर्ताले भदौ ८ गतेसम्म इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।

गत साउन ८ गतेदेखि ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’ को १ अर्ब २५ करोड रुपैयाँबराबरको इकाई बिक्री खुला गरिएको थियो । इकाइ निष्कासन तथा बिक्री खुला अवधि हिजो बिहीबार अन्तिम अवसर रहेको थियो ।

प्रतिइकाई १० रुपैयाँको दरले १२ करोड ५० लाख इकाई बिक्री खुला गरिएको छ। यो फण्डको कुल इकाइमध्ये कोष प्रवद्र्धनमा एनआईसी एसिया बैंक लिमिटेडका लागि १४% अर्थात १ करोड ७५ लाख इकाइ तथा योजना व्यवस्था एनआईसी एसिया क्यापिटल लिमिटेडलाई १% अर्थात् १२ लाख ५० हजार इकाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड ६२ लाख ५० हजार इकाइ निश्कासन खुला गरिन लागेको हो । यो बन्दमुखी म्युचुअल फन्ड हो ।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड ७५ लाख इकाइका लागि खरिद आवेदन दिन सक्ने छन् ।

दोश्रो बजार उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएर संचालनमा रहेका अधिकांश म्युचुअल फण्डहरुको न्याभ प्रति इकाई मूल्य (रु १०) भन्दा तल झरिरहेको अवस्थामा एनआइसी एशियाले १० वर्षे अवधिको बन्दमुखी र केही फरक प्रकृतिको ‘ब्यालेन्स फण्ड’का इकाई निश्कासन गरेको हो ।

नेपालमा हाल संचालित अधिकांश म्युचुअल फण्ड इक्वीटी मार्केटमा आधारित छन् । सेयर बजारमा अध्ययनसहित लगानी गरी त्यहाँबाट नाफा कमाएर सो नाफा लाभांशको रुपमा इकाई खरीदकर्ताहरुलाई वितरण गर्ने चलन चलिआएको छ ।

एनआइसी एशियाको नयाँ प्रकृतिको ब्यालेन्स फण्डले भने लगानी विविधिकरण गर्नेछ । सामान्य अर्थमा भन्दा ब्यालेन्स फण्डले सन्तुलित ढंगले लगानीका विकल्पहरुमा इकाई खरीदकर्ताबाट संकलन भएको फण्ड लगानी गर्नेछ ।

पहिलो वर्ष यो फण्डले बैंकको फिक्स्ड डिपोजिटमा कोषको आकारको १०% लगानी गर्नेछ । ऋणपत्रहरुमा १०%, दोश्रो बजारमा ५५% र कल अकाउण्टमा २५% लगानी गर्नेछ ।

कोष व्यवस्थापकले एनआइसी ब्यालेन्स फण्डका केही महत्वपूर्ण वित्तीय सूचकहरुको विषयमा समेत प्रक्षेपण तयार गरेको छ ।

पहिलो वर्ष यो कोषको नेट एसेट भ्यालू (न्याभ) १० रुपैयाँ ६३ पैसा हुने र १० औं वर्ष  १३.५७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

यो फण्डले पहिलो वर्ष नै लगानीकर्तालाई कम्तीमा ९ प्रतिशत प्रतिफल दिन सकिने प्रक्षेपण गरेको छ । यो कोषका इकाईमा लगानी गर्नेहरुले १० वर्षको अवधिमा १८७% रिटर्न पाउनेछन् ।