काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमीटेडले ऋणपत्र लगायत लगानीका फिक्स्ड प्रकृतिका उपकरणमा लगानी गर्ने प्रकृतिको खुल्लामुखी म्युचुअल फण्ड निश्कासनको अनुमति पाएको छ । 

धितोपत्र बोर्डले एनआइसी क्यापिटललाई ५० करोड रुपैयाँ बराबरको एनआइसी एशिया डाइनामिक डेब्ट नामको म्युचुअल फण्ड निश्कासनको अनुमति दिएको हो । 

निश्कासन अनुमतिसँगै नेपालको बजारमा बिल्कुलै नयाँ प्रकृतिको खुल्लामुखी म्युचुअल फण्डका इकाई सर्वसाधारणका लागि बिक्री खुलाउने क्यापिटलले तयारी गरिरहेको छ । क्यापिटल स्रोतका अनुसार मंसिर दोश्रो साताभित्रमै यो फण्डका इकाईहरु सार्वजनिक गरिनेछ । 

सुरुवातमा क्यापिटलले १० रुपैयाँ प्रतिइकाई दरका १ करोड २५ लाख इकाई निश्कासन गर्नेछ । 

नेपालमा खुल्लामुखी म्युचुअल फण्ड निश्कासनको सुरुवात एनआइबिएल एस क्यापिटलले गरेको हो । तर, खुल्लामुखी म्युचुअल फण्ड भनेर सुरुवात गरिएको फण्डले बन्दमुखी प्रकृतिकै व्यापार गरेपछि नेपाली बजारमा खासै चल्न सकेन । 

खुल्लामुखी म्युचुअल फण्डकै अनुभूत गराउन एनआइबिएल एस क्यापिटलले नसकिरहेको बेला एनआइसी एशिया क्यापिटलले भने खुल्लामुखी फण्ड ल्याउन लागेको हो । 

क्यापिटलको यो फण्डमार्फत ऋणपत्र, निश्चित रिटर्न आउने लगानीका अन्य औजारहरुमा लगानी गरी इकाईधनीलाई रिटर्न दिनेछ । 

खुल्लामुखी म्युचुअल फण्डका इकाई बन्दमुखीजस्तो नेप्सेमा सूचीकृत हुँदैनन् । योजना व्यवस्थापकमार्फत नै खरीदबिक्री हुन्छ । लगानी गर्दै जाँदा त्यसबाट आउने रिटर्नका आधारमा यस्ता फण्डको न्याभ हेरफेर हुँदै जान्छ र रियल टाइममा कायम न्याभमै लगानीकर्ताले चाहेको समयमा बिक्री गर्न सक्छन् । 

यसैबीच, एनआइसी एशिया क्यापिटलले सेलेक्ट थर्टी नामको १ अर्ब रुपैयाँ बराबरको बन्दमुखी फण्डका लागि समेत धितोपत्र बोर्डमा आवेदन दिएको छ । यो फण्डले चाहि सेयर बजारका टप ३० कम्पनीमा मात्र लगानी गर्नेछ । 

उता, सिद्धार्थ क्यापिटलले समेत सिद्धार्थ सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किम नामको खुल्लामुखी योजनाका इकाई निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । सिद्धार्थले २० करोड रुपैयाँ बराबरको खुल्लामुखी स्किम संचालन गर्न चाहेको हो ।