काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड-२ का ८ करोड ५० लाख इकाईको बिक्री आजदेखि खुलेको छ । 

कुनै पनि संघसंस्था तथा सर्वसाधारणहरुका लागि रु. १० अंकित दरका इकाईहरुको बिक्री आजदेखि खुलेको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । 

आजदेखि बिक्री खुलेको यो फण्डका इकाईमा छिटोमा मंसिर ७ गतेसम्म र सो अवधिसम्म सबै इकाई बिक्री नभए ढिलोमा मंसिर १८ गतेसम्म खरीदका लागि आवेदन दिन सकिनेछ । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सीआस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ लिमीटेडद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

यो म्युचुअल फण्डको १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी  एशिया बैंक लिमीटेडलाई सुरक्षित राखी बाँकी इकाईको बिक्री खुलाइएको हो । 

सेयरको दोश्रो बजारको विषयमा पर्याप्त ज्ञान नभएका, तर सेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि म्युचुअल फण्डको लगानी सुरक्षित मानिन्छ । यस्ता फण्डका सञ्चालकहरुले सर्वसाधारणका साना साना लगानी भेला पारी दोश्रो बजार तथा लगानीका अन्य उपकरणमा लगानी गरी लगानीकर्तालाई वार्षिक रुपमा निकै राम्रो रिटर्न दिंदै आएका छन् । 

एनआईसी एशिया क्यापिटलले यस ग्रोथ फण्डका इकाईमा लगानी गर्नेले उच्चतम रिटर्न प्राप्त गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।