काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल ग्रोथ फन्डमा आवेदन दिने म्याद लम्बिएको छ। 

यो योजनाका इकाइहरु गत पुस ७ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाका निष्कासन बन्द छिटोमा पुस १२ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब पुस २१ गतेसम्म यो योजनाका इकाइहरु बिक्री खुला गरिएको योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलले जनाएको छ। 

कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका यस योजनाका कुल १ अर्ब ६० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरिएको छ। जसअनुसार १० अंकित दरका कुल १६ करोड इकाइ बिक्री खुला गरिएको छ। 

कुल इकाइमध्ये बीजपुँजीबापत १ प्रतिशत अर्थात १६ लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेनट बैंकका लागि छुट्याइएको छ। बाँकी न्यूनतम १२ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड ६० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट खरिद आवेदन दिन सक्नेछन्। 

यो बन्दमुखी योजना हो। यो योजनालाई धितोपत्र बार्डले गत मंसिर १८ गते निष्कासन अनुमति दिएको थियो। 

समयावधि १० वर्षको रहेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड हुनेछ। उक्त अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिनसक्ने प्रक्षेपणसमेत योजना व्यवस्थापकले गरेको छ। 

यस योजनाका इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई योजनाको समयावधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ।

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत यसअघि नै ३ वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजनासमेत सञ्चालनमा छन्। ‘एनआईबिएल समृद्धि फन्ड–१’ आफ्नो ७ वर्षे समयावधि पूूरा भई परिपक्क भइसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफलसमेत वितरण गरिसकेको छ। 

त्यस्तै अन्य दुई बन्दमुखी योजना एनआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–२ समेत सञ्चालनमा रहेका छन्।

यसका साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’ पनि यसै म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको छ। यस योजनाले समेत हालसम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफलसमेत कायम राख्न सफल रहेको छ। 

एनआईबिएल म्युचुअल फन्डअन्तर्गतका योजनाको इकाइधनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्दै आइरहेका छन्।