काठमाण्डौ । एनआइबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी एनआईएमबी एस क्यापिटलले माघ २ गतेदेखि १ अर्ब रुपैयाँ साइजको 'एनआइबिएल स्टेबल फण्ड' नामको बन्दमुखी म्युचुअल फण्डका ईकाईहरुको बिक्री खुलाउँदैछ । 

रु. १० दरका १० करोड इकाईमध्ये ८ करोड ५० लाख सर्वसाधारणका लागि निश्कासन हुनेछ । इच्छुकले न्यूनतम १०० देखि अधिकतम १ करोड ईकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।

एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्न लागेको यो स्किम पाँचौ बन्दमुखी म्युचुअल फण्ड हो । यसअघि सञ्चालित चारवटा बन्दमुखी फण्डको वित्तीय प्रदर्शन सन्तोषजनक नै रहेको छ । 

क्यापिटलले सञ्चालन गरेको खुल्लामुखी म्युचुअल फण्ड(एसआईपी) लगानीकर्तामाझ निकै लोकप्रिय छ । 

यस्ता स्किमहरुले सर्वसाधारणबाट सानो सानो लगानी संकलन गरी धितोपत्र बजार तथा लगानीका विभिन्न उपकरणमा लगानी गर्ने भएकोले बजारमा हुने उतारचढावबाट आम्दानी वा लगानीकर्ताले पाउने रिटर्न प्रभावित हुने गर्छ । 

तर, कम्पनीले आफ्नो पाँचौ बन्दमुखी फण्डको रुपमा ल्याउन लागेको १२ वर्षे अवधिको एनआईबिएल स्टेबल फण्डमा लगानी गर्नेले न्यूनतम १२५ प्रतिशतसम्म लाभांश पाउनसक्ने प्रक्षेपण सार्वजनिक गरेको छ । 

फण्ड परिपक्व हुने कुल अवधिभर लगानीमा कुल प्रतिफल १९४.४ प्रतिशत पाइने समेत कम्पनीको प्रक्षेपण छ । 

फण्ड म्यानेजर एनआईएमी एस क्यापिटलले गरेको लाभांश र लगानीमा प्रतिफलको प्रक्षेपण यस्तो छः

  वर्ष-1 वर्ष-2 वर्ष-3 वर्ष-4 वर्ष-5 वर्ष-6 वर्ष-7 वर्ष-8 वर्ष-9 वर्ष-10 वर्ष-11 वर्ष-12
लाभांश 5% 10% 10% 10% 10% 12% 12% 12% 12% 12% 10% 10%
लगानीमा कुल प्रतिफल(वार्षिक) 16.8% 18.6% 14.1% 14.6% 15.2% 17.8% 16.3% 16.9% 17.5% 18.2% 17.0% 11.4%