काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्ड (खुलामुखी योजना) मा सहभागी हुन आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । 

देशकै पहिलो खुल्लामुखी म्युचुअल फन्डमा गत जेठ १६ देखि आवेदन खुलेको यो स्किममा छिटोमा जेठ २२ गतेसम्ममा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यो अवधिसम्म न्यून कित्ताका लागिमात्र आवेदन परेपछि गत जेठ १९ गतेदेखि दोस्रो चरणका लागि आवेदन खुला गरिएको थियो । 

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानीकोष नियमावली, २०६७ र सामूहिक लगानीकोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलो पटक यो खुलामुखी योजनाको इकाई निश्कासन भएको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानीकोषको इकाईको बिक्री खुलाएको हो । 

यो योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड रहेको छ भने योजना व्यबस्थापकमा एनआईबिएलएस क्यापिटल लिमिटेड रहेको छ।

यस खुलामूखी योजनाबमोजिम जम्मा रु।५० करोड रुपैयां बराबरको ५ करोड इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त भएको थियो।

यस्तै, बीज पूंजीको रुपमा रकम रु।७ करोड ५० लाख रुपैयाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछन् ।

यस खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढिमा २ लाख ५० हजार इकाईका लागि प्रतिइकाई रु। १०  का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् । 

आवेदन दिनका लागि नेपाल राज्यभरको सम्पूर्ण ७७ जिल्लाहरुमा फैलिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएसीको ‘मेरो शेयर’ बाट समेत दिन सकिनेछ । 

यो म्युचुअल फण्ड एआइबिएल एस क्यापिटलको तेश्रो म्युचुअल फण्ड हो भने देशकै पहिलो खुल्लामुखी फण्ड हो । 

यस योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ, जुन लगानीको व्यवस्थापन एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । 

यस योजनाको इकाईहरु खरिद बिक्री एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा अन्य तोकिएको वितरण केन्द्रहरुबाट गर्न सकिनेछ ।

के हो खुल्लामुखी स्किम ?

योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समयसीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाई बिक्री गर्न सकिने गरी जारी गरिएको सामूहिक लगानी योजनालाई ‘खुलामुखी योजना’ भनिन्छ । 

यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाई बिक्री गर्न सक्नेछन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएमा पुनः खरीद पनि गरिदिन सक्नेछन् ।

अहिले एनआइबिएल एस क्यापिटलले ५० करोड रुपैयाँको स्किम संचालनको स्वीकृति पाएको हो । यसको आकार बढेसँगै त्यसका लागि पनि धितोपत्र बोर्डबाट स्वीकृति भने लिनुपर्नेछ। 

यस्ता योजनामा तरलता बढी हुन्छ । लगानीकर्ताले फण्ड म्यानेजरलाई नै तुरुन्त बिक्री गर्नसक्ने भएकोले बिक्रीबाट प्राप्त रकम पनि तुरुन्तै भुक्तानी पाइने एनआइबिएल एस क्यापिटलका सुवास पौडेलले जानकारी दिए । 

खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । 

खुलामुखी योजनाको इकाई ब्रोकरमार्फत खरीदबिक्री गर्न नपर्ने भएकोले कम झञ्झटिलो र कम खर्चिलो हुने समेत पौडेलले दाबी गरे । ‘फण्ड व्यवस्थापन वा उसले तोकेका कलेक्सन एजेन्टबाट नै खरीदबिक्री गर्न सकिन्छ ।’ पौडेलले बिजशालासँग भने। 

यस्तो फण्डको परिपक्व हुने अवधि हुन्न, अनन्तकालसम्म पनि जानसक्छ । पौडेलले भने–‘सेटलमेन्ट गर्न पनि झञ्झट भएन । समग्रमा यस्ता स्किममा लगानी गर्न सजिलो हुन्छ ।’