काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइ खरिदका लागि मागभन्दा बढी आवेदन परेका छन्।

गत शुक्रबार (मंसिर १२ गते)देखि यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ बिक्री खोलिएको थियो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिएको थियो।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार हिजो मंगलबार अन्तिम दिनसम्म ८० हजार ४०९ आवेदकबाट कुल ६ करोड ५३ लाख ८४ हजार १४० इकाइ खरिदका लागि आवेदन परेको छ। यो हिसाबले मागभन्दा २ करोड २८ लाख ८४ हजार १४० बढी इकाइ खरिदका लागि आवेदन परेको हो। 

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ५० लाख इकाइसम्म खरिद आवेदन दिन सक्ने गरी यो म्युचुअल फन्डको बिक्री खुला गरिएको थियो। यो योजनाको कोष प्रबद्र्धकका रुपमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ। 

नेपालमा खुलामुखी म्युचुअल फन्ड निश्कासनको सुरुवात एनआइबिएल एस क्यापिटलले गरेको हो। तर, खुलामुखी म्युचुअल फन्ड भनेर सुरुवात गरिएको फण्डले बन्दमुखी प्रकृतिकै व्यापार गरेपछि नेपाली बजारमा खासै चल्न सकेन।खुलामुखी म्युचुअल फन्डकै अनुभूत गराउन एनआइबिएल एस क्यापिटलले नसकिरहेको बेला एनआइसी एसिया क्यापिटलले भने खुलामुखी फन्ड ल्याएको हो। 

क्यापिटलको यो फन्डमार्फत ऋणपत्र, निश्चित रिटर्न आउने लगानीका अन्य औजारहरुमा लगानी गरी इकाईधनीलाई रिटर्न दिनेछ। खुलामुखी म्युचुअल फन्डका इका बन्दमुखीजस्तो नेप्सेमा सूचीकृत हुँदैनन्। योजना व्यवस्थापकमार्फत नै खरीदबिक्री हुन्छ। लगानी गर्दै जाँदा त्यसबाट आउने रिटर्नका आधारमा यस्ता फन्डको न्याभ हेरफेर हुँदै जान्छ र रियल टाइममा कायम न्याभमै लगानीकर्ताले चाहेको समयमा बिक्री गर्न सक्छन्।