काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइहरु आज मंगलबार बाँडफाँड गरिएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा आज बिहान ९ बजे यो योजनाका इकाइहरु बाँडफाँड गरिएको हो। 

गत मंसिर १२ गतेदेखि मंसिर १६ गतेसम्म यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ निष्कासन गरिएको थियो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिएको थियो।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ५० लाख इकाइसम्म खरिद आवेदन दिन सक्ने गरी यो म्युचुअल फन्डको बिक्री खुला गरिएको थियो। यो योजनाको कोष प्रबद्र्धकका रुपमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ। 

उक्त अवधिमा यो फन्डमा ७९ हजार ५१४ आवेदकहरुबाट रितपूर्वक माग गरिएको ५ करोड ६० लाख १६ हजार ५७० इकाइमध्ये १०० इकाइदेखि ५ लाख इकाइसम्म माग गर्ने सबैलाई मागबमोजिम तथा १० लाख इकाइदेखि ५० लाख इकाइसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाइका दरले बाँडफाँड गरिएको छ। बाँकी रहेको ५० इकाइका हकमा १० लाख १० इकाइदेखि ५० लाख इकाइ माग गर्ने ५ जना आवेदकहरुलाई पुनः १० कित्ता थप गरी कुल ४ करोड २५ लाख इकाइ बाँडफाँड गरिएको एनआईसी एसिया क्यापिटलले जनाएको छ। 

नेपालमा खुलामुखी म्युचुअल फन्ड निश्कासनको सुरुवात एनआइबिएल एस क्यापिटलले गरेको हो। तर, खुलामुखी म्युचुअल फन्ड भनेर सुरुवात गरिएको फण्डले बन्दमुखी प्रकृतिकै व्यापार गरेपछि नेपाली बजारमा खासै चल्न सकेन।खुलामुखी म्युचुअल फन्डकै अनुभूत गराउन एनआइबिएल एस क्यापिटलले नसकिरहेको बेला एनआइसी एसिया क्यापिटलले भने खुलामुखी फन्ड ल्याएको हो। 

क्यापिटलको यो फन्डमार्फत ऋणपत्र, निश्चित रिटर्न आउने लगानीका अन्य औजारहरुमा लगानी गरी इकाईधनीलाई रिटर्न दिनेछ। खुलामुखी म्युचुअल फन्डका इकाइ बन्दमुखीजस्तो नेप्सेमा सूचीकृत हुँदैनन्। योजना व्यवस्थापकमार्फत नै खरीदबिक्री हुन्छ। लगानी गर्दै जाँदा त्यसबाट आउने रिटर्नका आधारमा यस्ता फन्डको न्याभ हेरफेर हुँदै जान्छ र रियल टाइममा कायम न्याभमै लगानीकर्ताले चाहेको समयमा बिक्री गर्न सक्छन्।