काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्राहकसमक्ष ल्याएको न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको छ। 

बैंकको काठमाण्डौस्थित डिल्लीबजार शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेकी काठमाण्डौस्थित पानीपोखरीनिवासी ५० वर्षीया आरती मानन्धरलाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो। 

हाल न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमन्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितव्यका लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ। यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रु. १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रु. १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत रु. १ लाख (अस्पताल भर्नामा रु.८० हजार र बहिरंग उपचारमा रु.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधासमेत ग्राहकले पाउन सक्छन्। 

बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४२६ जनाभन्दा बढी ग्राहकले बीमाबापतको रु. २ करोड ६६ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्। यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। २२ लाखभन्दा बढी ग्राहकरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद छन्। 

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा रु. २ अर्ब ६५ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।