-रामेन्द्र रायमाझी(प्रमुख कार्यकारी अधिकृत)-एनआइसी एशिया क्यापिटल लिमीटेड
 

असार १० गतेदेखि बिक्री खुल्ला हुन लागेको एनआईसी एशिया सेलेक्ट–३० फन्ड कस्तो खालको योजना हो ?
-एनआईसी एशिया सेलेक्ट-३०, इन्डेक्स फण्ड हो । यस योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिनेछ । यस योजनाको प्रमुख विशेषता भनेको लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएकामध्ये ३० वटा मात्र उत्कृष्ट कम्पनीहरु छनौट गरी लगानी गरिने हो । ती ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूहको प्रतिनिधित्व गर्ने भएकोले यस फण्डलाई इन्डेक्स फण्ड भनिएको हो ।  

एनआईसी एसिया क्यापिटलले तेस्रो बन्दमुखी योजनाका रुपमा एनआईसी एसिया सेलेक्ट–३० फन्ड ल्याउँदैछ। लगानीकर्ताहरुलाई यस योजनाका बारेमा थप प्रस्ट पारिदिनुहुन्छ कि ?
-यस योजनाको प्रमुख विशेषता भनेको ३० वटा कम्पनी छनौट गरी लगानी गरिने हो । लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर डिफाइन गरिएको हुन्छ । जस्तै, मार्केट क्यापिटलाइजेसन, नेप्सेसँगको कोरिलेसन लगायतका अन्य प्यारामिटहरु हेरेर मात्र लगानी गरिन्छ । सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटामा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यामा थपघट हुन सक्नेछ र निश्चित समयपछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मूल्याङ्गकन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिनेछ ।

यसअघि पनि एनआईसी एसिया क्यापिटलले २ वटा बन्दमुखी र एउटा खुलामुखी योजना ल्याइसकेको छ। यी योजनाभन्दा एनआईसी एसिया सेलेक्ट–३० फन्डमा के–के भिन्नता छन् ?
-यो योजना संचालन गर्नुभन्दा अगाडि हामीले दुईवटा बन्दमुखी योजनाहरुः एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड  तथा एउटा खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालन गरिरहेका छौं । जुन योजनाहरु अहिले संचालन गर्न लागिएको भन्दा फरक छन् । अहिले संचालन गर्न लागिएको योजनाको प्रमुख विशेषता भनेको यो एउटा इन्डेक्स फण्ड हो । यस योजनाको न्याभले समग्र शेयर बजार परिसूचकलाई रिफ्लेक्सन गर्दछ भने यस अगाडि संचालनमा रहेका योजनहरुमध्ये एउटा फण्ड ग्रोथ प्रकृतिको हो, जसको अधिकाशं रकम इक्वीटीमा लगानी गरिन्छ । 

अर्को योजना ब्यालेन्स्ड प्रकृतिको फण्ड हो, जसको रकम इक्वीटी तथा मुद्रा बजार उपकरणमा लगानी गरिन्छ । 

यसैगरी, यस क्यापिटलबाट संचालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको अधिकाशं रकम निश्चित आय हुने उपकरणहरुमा लगानी गरिन्छ । 

यसप्रकारको योजना ल्याउनुको उद्देश्य के हो ?
-नेपालमा संचालित अधिकाशं सामूहिक योजनाहरुमध्ये धेरैजसो योजनाहरु ग्रोथ र ब्यालेन्स्ड प्रकृतिका रहेको देखिन्छ । यस प्रकारका फण्डहरुले अधिकांश सूचिकृत कम्पनीहरुमा लगानी गरिरहेका हुन्छन् । तर, यस एनआईसी एशिया सेलेक्ट–३० फण्डले जम्मा ३० वटा कम्पनीहरुमा लगानी गर्ने भए पनि धितोपत्रको दोश्रो बजारमा रहेको सम्पूर्ण समूह उप–समूहमा कायम रहेका कम्पनीहरुको शेयर छनौट गरी लगानी गरिने हुँदा यो योजनाको न्याभले समग्र स्टक मार्केटस्को परिसूचकलाई प्रतिनिधित्व गर्दछ । नेपालमा हालसम्म यस प्रकारका फण्डहरु संचालनमा नरहेको तथा म्युचुअल फण्डमा लगानी गर्दा समेत उच्च प्रतिफल वितरण गर्न सकियोस् भन्ने मुख्य उद्देश्यका साथ यस योजना संचालनमा ल्याइएको हो ।  

यस योजनाले बजारमा सूचीकृतमध्ये राम्रा मानिएका ३० वटा कम्पनी छनोट गरी लगानी गर्ने भनिएको छ ? त्यस्ता कम्पनीहरु कसरी र कुन आधारमा छनौट गर्नुहुन्छ ?
-हो । यो योजनाको नाम नै सेलेक्ट–३० रहेको छ । जसको अर्थ नै ३० वटा उत्कृष्ट कम्पनीहरु छनौट गरी लगानी गर्ने हुन्छ । आम जनामानसमा सूचिकृत कम्पनीको संख्या धेरै हुँदा कसरी ३० वटा कम्पनीमा मात्रै लगानी गर्ने सम्बन्धी निर्णय लिइन्छ भन्ने कौतुहुलता हुनु स्वभाविक नै हो । यस योजना अन्तर्गत लगानी गर्ने कम्पनीहरु छनौट गर्दा आन्तरिक प्यारामिटरहरु जस्तै कम्पनीको फण्डामेन्टल अन्तर्गत विगतमा कम्पनीले गरेको प्रदर्शन तथा भविष्यमा गर्न सक्ने ग्रोथ आदि हेरेर कम्पनीहरुको सूचि तयार पारिन्छ र उक्त सूचिमा परेका कम्पनीहरुमध्ये पनि ३० वटा कम्पनी छनौट गर्दा मार्केट क्यापिटलाइजेसन, नेप्स इन्डेक्ससँगको कोरिलेसन र अन्य प्यारामिटरहरु जसले समग्र परिसूचकको प्रतिनिधित्व गर्ने गरी ३० वटा कम्पनीको बास्केट तयार गरी लगानी गरिन्छ ।  

यस योजनाअन्तर्गत लगानी रणनीति चाहिँ कस्तो हुन्छ ?
-यो एउटा इन्डेक्स फण्ड भएकोले लगानी गरिने कम्पनीहरु छनौट गर्दा लगानी गर्ने समयमा नै गहन अध्ययन गरिने हुँदा एकपटक गरिएको लगानीलाई लामो समयसम्म कायम गरिन्छ । अर्थात यस योजनको लगानी रणनीति प्यासिभ किसिमको हुन्छ । तर समय समयमा लगानी गरिएका कम्पनीहरु तथा अन्य सूचिकृत कम्पनीहरुको मूल्याङ्गकन गरी अण्डरभ्यालु भएका कम्पनीहरु खरिद गर्ने तथा ओभरभ्यालु भएका कम्पनीहरु बिक्री गर्ने रणनीति हुनेछ । 

बजारमा हाल डेढ दर्जनभन्दा बढी म्युचुअल पण्डहरु संचालनमा छन् । यो योजनामै लगानी गर्नका लागि तपाइँहरु लगानीकर्ताहरुलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
-हाल बजारमा १४ वटा फण्ड म्यानेजरहरुले २५ वटा स्किमहरु संचालन गरिरहेका छन् । जुन फण्डहरुभन्दा हामीले संचालन गर्न लागेको फण्डको नेचर नै फरक रहेको छ । धितोपत्रको दोश्रो बजारमा गरिने लगानी कहिले पनि जोखिमरहित हुँदैन
। अर्थात दोश्रो बजारमा शेयर खरिदबिक्री गर्ने भन्ने सबैको इच्छा हुन्छ, तर कस्ता कम्पनी किन्ने, कहिले किन्ने र कहिले बेच्ने भन्ने निर्णय लिन आम लगानीकर्ताहरुलाई निकै गाह्रो विषय हुनसक्छ । त्यसैले हामीहरुले शेयर बजारमा लगानी गर्न मन भएका तथा शेयर बजार सम्बन्धी ज्ञान कम भएका सर्वसाधरण तथा संघसंस्थाहरुले यस योजनामा लगानी गर्दा उचित प्रतिफल प्राप्त गर्ने छन् । 

अर्को शब्दमा भन्दा यस फण्डमा संकलित रकमले धितोपत्रको दोश्रो बजारमा सूचिकृत सम्पूर्ण समूह, उप–समूहमा रहेका राम्रा मानिएका कम्पनीहरु छनौट गरी लगानी गरिने हुँदा फण्डमा लगानी गर्ने इकाईधनीहरुले सानो रकम लगानी गर्दा पनि सूचिकृत कम्पनीहरुमध्ये राम्रा मानिएका कम्पनीहरुबाट लाभ लिनसक्ने हुँदा यस योजनामा निर्धक्कसँग लगानी गर्न सकिनेछ ।

यस योजनाअन्तर्गत आगामी ३ वर्षसम्मको प्रतिफल प्रक्षेपण कस्तो रहेको छ ?
-यो फण्डमा लगानी गर्ने इकाईधनीहरुले योजना संचालनमा आएको पहिलो वर्षदेखिनै नगद लाभाँश प्राप्त गर्न सक्नेछन् । हामीले पहिलो वर्षमा नै कम्तीमा १० प्रतिशत तथा दोश्रो वर्षदेखि कम्तीमा १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौं । समग्रमा भन्दा यस योजनामा लगानी गर्ने इकाईधनीहरुले कम्तीमा १४३ प्रतिशतभन्दा बढी रिटर्न प्राप्त गर्ने हाम्रो प्रक्षेपण छ । 

यस योजनामा संलग्न सुपरीवेक्षण तथा विज्ञ टोलीका विषयमा केही बताइदिनुहुन्छ कि ?
-यस योजनाको कोष सुपरिवेक्षकहरु विभिन्न क्षेत्रमा लामो समयसम्म व्यवसायिक दक्षता तथा अनुभव हासिल गर्नुभएका व्यक्तित्वहरु हुनुहुन्छ ।  विशेषतः कोष सुपरिवेक्षकहरु वरिष्ठ कानुन व्यवसायी, बैंक तथा वित्तीय क्षेत्र, अध्ययन तथा अध्यापन र लेखापरिक्षण व्यवसायमा लामो समयदेखि आवद्ध रहनु भएका व्यक्तित्वहरु हुनुहुन्छ । जसले गर्दा उक्त फण्डको उत्कृष्ट र चुस्त दुरुस्त व्यवस्थापन तथा कोषको निगरानीमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । 

एनआईसी एसियाअन्तर्गत हाल ३ वटा योजनाहरु सञ्चालनमा छन्। एनआईसी एसिया सेलेक्ट–३० फन्ड चौथो योजनाका रुपमा ल्याउँदै हुनुहुन्छ । यसअघिका ३ वटा योजनाहरुको प्रदर्शन कस्तो रहेको छ ?
-हाल यस कम्पनीले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड संचालन गरिरहेको छ । उक्त योजना संचालनमा आएको २ आर्थिक वर्ष पूरा भएको छ  भने दोश्रो बन्दमुखी योजना एनआईसी एशिया ब्यालेन्स्ड फण्ड हो । उक्त योजना संचालनमा आएको १ आर्थिक वर्ष पूरा भएको छ । त्यस्तै पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको ७ महिना मात्र भएको छ । 

संचालनमा रहेका योजनाहरुमध्ये पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्डले हाल सम्म २२ प्रतिशत नगद लाभाँश वितरण गरी जेष्ठ मसान्त, २०७८ मा १९.३२ न्याभ कायम गर्न सफल भएका छौं भने दोश्रो योजना एनआईसी एशिया ब्यालेन्स्ड फण्डले १० प्रतिशत नगद लाभाँश वितरण पश्चात् जेष्ठ मसान्त, २०७८ मा १७.७२ न्याभ कायम गर्न सफल भएका छौं । 

त्यस्तै यस क्यापिटलबाट संचालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको ७ महिनाको अवधिमै ११.३९ न्याभ कायम गर्न सफल भएका छौं । समग्रमा भन्दा हामीहरुले संचालन गरिरहेको योजनाहरुको प्रदर्शन राम्रो देखिन्छ । जुन कुरा मासिक रुपमा प्रकाशित गरिने योजनाहरुको वित्तीय विवरण हेरेर यहाँहरुले नै पनि आँकलन गर्न सक्नु हुनेछ । 

कोरोना महामारीबीचको पुँजी बजारको वर्तमान अवस्था र पुँजी बजारमा यस्ता योजनाहरुले पार्नसक्ने सकारात्मक प्रभावका बारेमा केही बताइदिनुहुन्छ कि ?
-नेपालमा संस्थागत लगानीकर्ताहरुको उपस्थिति कम रहेको अवस्थामा  सामूहिक लगानी कोषको महत्व बढ्दै गइरहेको पाइन्छ । पछिल्लो समयमा सामूहिक लगानी कोषहरुको मुनाफा बृद्धि हुदै जाँदा लगानीकर्ताहरुमा समेत विस्तारै म्युचुअल फण्डप्रति आकर्षण देखिन थालेको छ । समग्र बजारको विकास विस्तारमा सामूहिक लगानी कोष योजनाहरुको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । विशेषतः सामूहिक लगानी कोष संचालकहरुसँग बजारको राम्रो ज्ञान भएका विज्ञ समूह हुने र निजहरुले समग्र बजारको अवस्था हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्ने हुँदा सामूहिक लगानी कोषहरुले गर्ने निर्णयलाई आधार मानी आम लगानीकर्ताहरुले लगानी सम्बन्धी निर्णय लिन सहज हुने देखिन्छ । 

अहिलेको बजार ट्रेन्डलाई मध्यनजर गर्दै नयाँ तथा पुराना लगानीकर्ताहरुलाई लगानीका कस्ता सुझाव दिनुहुन्छ ?
-अहिले शेयर बजार बढ्दो ट्रेन्डमा रहेको देखिन्छ । जहिले पनि बजार बुलिस अवस्थामा हुँदा राम्रा कम्पनीका साथै सप्लाई कम भएका कम्पनीहरुको पनि शेयरमूल्य बढेको देखिन्छ । यस्तो अवस्थामा आम लगानीकर्ताहरुले सुझबुझका साथ लगानी सम्बन्धी निणर्य लिनुपर्दछ । शेयर बजारमा गरिने लगानीले प्रतिफल नै दिन्छ भन्ने सुनिश्चित गर्न सकिदैन । त्यसैल आम नयाँ तथा पुराना लगानीकर्ताहरुले लगानी गर्दा आफ्नो छुट्टै लगानी रणनीति बनाएर लगानी सम्बन्धी निर्णय लिनु उचित हुन्छ । जसअन्तर्गत लगानी गरिने कम्पनीको फण्डामेन्टल राम्रोसँग अध्ययन गर्ने, लगानी गर्ने कम्पनीको व्यवस्थापन समूह, सम्बन्धित कम्पनीको रेगुलेटरले भविष्यमा चाल्नसक्ने सम्भावित कदम, लगानी गरिएको क्षेत्रको ग्रोथ तथा भविष्य, समग्र देशको आर्थिक÷अर्थतन्त्रको अवस्था, आफूले जोखिम बहन गर्नसक्ने क्षमता लगायत शेयर बजारमा प्रत्यक्ष तथा अप्रत्क्ष रुपमा प्रभाव पर्ने तत्वहरुको राम्रोसँग अध्ययन गरेर मात्र लगानी सम्बन्धी  निर्णय लिन अनुरोध गर्दछु । 

अन्त्यमा एनआईसी एसिया क्यापिटलबाट सेवाग्राहीले के–कस्ता सुविधाहरु पाइरहेका छन् ? आगामी दिनमा क्यापिटलले आफ्ना सेवाग्राहीलाई लक्षित गरी के–कस्ता योजना र रणनीति बनाएको छ ?
-एनआईसी एशिया क्यापिटल लिमिटेडले म्युचुअल फण्डका साथै शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छौं । पछिल्लो समयमा कोरोना महामारीको समयमा यस क्यापिटलबाट सेवा लिने ग्राहकहरुलाई सहज गराउने मुख्य उद्देश्यका साथ क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरुलाई अनलाईन तथा विद्युतीय माध्यमबाट उपलब्ध गराइरहेका छौं । आगामी दिनहरुमा क्यापिटलबाट प्रदान गरिने सेवालाई डिजिटलाईज गर्दै जाने रणनीति लिएका छौं । सोहीअनुरुप हाल देशभरबाट सहजै रुपमा अनलाईनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा उपलब्ध गराइरहेका छौं भने अनलाईन मार्फत नै लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छौं । 

साथै, हामीले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौ योजना एनआइसी एशिया फ्लेक्जी क्याप फण्ड नामक बन्दमुखी योजना स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिसकेका छौं । यसका साथै स्पेशलाइज्ड इन्भेष्टमेन्ट फण्ड(एसआइएफ) संचालनका लागि आवश्यक पूर्वधारहरु पूरा गरी बोर्डमा जानकारी गराइसकेका छौं ।