काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड’ का इकाइहरु भोलि जेठ १९ गतेबाट बिक्री खुला गरिँदैछ। 

कोष प्रवर्द्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेका यस बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १० इकाइ बिक्री गरिन लागेको हो। कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक रुपमा बिक्री गर्नका लागिएको छ। 

यस योजनामा सर्वसाधारण न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। 

यो योजनाको निष्कासन बन्द छिटोमा जेठ २४ गते हुनेछ। यो अवधिमा सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा असार २ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट आवेदन दिने सकिनेछ। 

सातवर्षे यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत वैशाख २९ गते निष्कासन अनुमति दिएको थियो। 

एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यो चौथो बन्दमुखी योजना हो। यस योजनामा संकलित अधिकांश रकम धित्रोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ। 

यो योजनाको प्रमुख विशेषता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुको स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूहअन्तर्गतका कम्पनीहरुमा लगानी गरिने क्यापिटलले स्पष्ट पारेको छ। 

 

सातवर्षे यो योजनाले पहिलो वर्ष लगानीकर्ताहरुलाई १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष १४ प्रतिशत, चौथो वर्ष १५ प्रतिशत, पाँचौँ वर्ष १६ प्रतिशत र छैटौँ वर्ष १८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ। यो फन्डले योजना अवधिभरमा लगानीकर्तालाई १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गर्ने प्रक्षेपण गरिएको छ। 

क्यापिटलले हाल ४ वटा योजनाहरु सञ्चालन गरिरहेको छ। जसमा ३ वटा बन्दमुखी र एउटा खुलामुखी योजना छन्। 

पछिल्लो समयमा धितोपत्रको दोस्रो बजार घटेर तल्लो विन्दुमा आइसकेको अवस्थामा म्युचुअल फन्डमार्फत गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्ने क्यापिटलको भनाइ छ। धितोपत्र बजारसम्बन्धी ज्ञान नभएका तथा सक्रिय रुपमा सेयर बजारमा समय दिन सक्ने लगानीकर्ताहरुले म्युचुअल फन्डमा लगानी गरी उचित प्रतिफल लिन सक्ने क्यापिटलले जनाएको छ।