काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि एकदिने व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम सञ्चालन गरेको छ। 

नवलपरासीको गोपीगन्ज (बर्दघाट रोड)स्थित पिस प्वाइन्ट पार्टी प्यालेसमा सम्पन्न तालिममा संस्थामा आबद्ध रही तरकारीखेती तथा पशुपालनमा संलग्न तथा व्यावसायिक कृषि गर्न इच्छुक समूह सदस्यहरुलाई स्थानीय क्षेत्रमा नै व्यावसायिक कृषि पेसातर्फ उत्प्रेरित गरी सदस्यहरुको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले उक्त क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमरनाथ सेढाईंले बताए। 

संस्थाको उपप्रदेशिक कार्यालय भुताहाअन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समूह सदस्यहरुको सहभागिता रहेको तालिममा हालको आधुनिक कृषि प्रणाली तथा भइरहेका अभ्यासहरु, व्यावसायिक कृषिसम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विश्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण कसरी गर्ने साथै, संस्थामा आबद्ध हुँदा पाइने सुविधालगायतका विषयमा अन्तर्क्रियात्मक ढंगले कार्यक्रम प्रस्तुत गरिएको थियो।

तालिम कार्यक्रममा कर्पोरेट कार्यालयका चिफ बिजनेस एन्ड क्वालिटी एस्युरेन्स इकोसिस्टम अर्जुन श्रेष्ठले संस्था तथा संस्थाका सेवासुविधाबारेमा प्रष्ट पार्नुभएको थियो भने पशु तथा कृषि प्राविधिक निरज पौडेलले तालिममा कृषि तथा पशु व्यवसायसम्बन्धी कक्षाहरुको सहजीकरण गरेका थिए। 

कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमरनाथ सेढाईंले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा आफ्नो कृषि पेसामा लागू गर्न सुझाव दिए। यसका साथै भविष्यमा समेत संस्थामा आबद्ध कृषक सदस्यहरुको आयआर्जनमा टेवा पुर्याउने यस्ता खाले कार्यक्रमहरु सञ्चालनमा ल्याउनेसमेत उनले जानकारी दिए।