काठमाण्डौ। एनआईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी कोरोना महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअनुरुप ग्राहकले यो बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौँ कारोबार रकमको ६ प्रतिशत वा रु. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन्। यो योजना यही भदौ ८ गतेदेखि २७ गतेसम्म गरिएको कारोबारका लागिमात्र मान्य हुने र न्यूनतम रु. १०० सम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था बैंकले गरेको छ।

डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले १५ हजार रुपैयाँभन्दा बढी क्यूआर मर्चेन्ट्समार्फत उत्साहजनक विद्युतीय कारोबार हुँदै आएकोमा कोरोना संकटको यो बेला जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि यस्तो योजना ल्याइएको जनाएको छ।

यस असाधारण समयमा ग्राहकको सुरक्षाका निम्ति बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बिललगायतका घरायसी बिलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ।

यस योजनामा मोबाइल बैंकिङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश नगरिएको बैंकले जनाएको छ।