काठमाण्डौ । एनआईसी एसिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एसिया क्विज’ योजना सार्वजनिक गरेको छ।

बैंकका ग्राहक तथा अन्य महानुभावले बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जबाफ दिई यो योजनामा सहभागी हुन सक्नेछन्। यस योजनाअन्तर्गत भोलि (भदौ २५ गते) आउँदो असोज १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीले दिनुपर्नेछ।

यसरी सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पमध्येबाट सहभागीले आफ्नो सामान्य जानकारीसहित आफूलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ। यसरी सोधिएका प्रश्नमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदासमेत सहभागीहरू विजेता बन्न सक्ने बैंकले जनाएको छ। यसैगरी जति धेरै सही जबाफ सहभागीले दिनेछन्, त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुनेसमेत व्यवस्था गरिएको बैंकको भनाइ छ।

बैंकले यो योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्ने जनाएको छ। बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनोट गर्ने व्यवस्था बैंकले गरेको छ।

यस योजनामा सहभागी भई सही जबाफ दिने एकजनालाई रिचार्जरका तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएको छ। त्यसैगरी पालसोनिकका तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजका तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनका तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रिल र यासुदाका तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ।

सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने पाँचजना भाग्यशालीलाई एलजीका तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा चारजनालाई रू. ५०० बराबरको मोबाइल रिचार्ज सुविधा प्रदान गरिनेछ।

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ। जसमार्फत यस बैंकको एनआईसी एसिया क्विज योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधाजस्ता गतिविधिका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ।