काठमाण्डौ । एनआईसी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न भाखा नाघेका कर्जाहरुको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न ल्याएको योजनाको लाभ लिन अब २३ दिनमात्र बाँकी छ। 

विभिन्न सहुलियतका योजनाहरू ल्याउने क्रममा बैंकले २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई कात्तिक १ गतेदेखि लागू हुने गरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ। यस असाधारण समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने द्देश्यले बैंकले ल्याएको यस योजनामा सहभागी हुन २३ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन सम्पूर्ण योग्य ऋणीलाई आह्वान गरेको छ। 

मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ। अहिलेको असाधारण समयमा सबै सरोकारवालाले असाधारणस्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाका लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ। 

यस योजनाबाट कोरोनाबाट आक्रान्त यो विषम परिस्थितिपश्चात देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं सबलीकरणमा टेवा पुगी आमग्राहकको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ।