काठमाण्डौ । समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो एनआईसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना आज मंगलबारबाट सुरु भएको छ।

यो योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा दोस्रोपटक निःशुल्क रुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ। अर्थात् सेवाग्राहीले पहिलोपटक रकम पठाउँदा शुल्क लागे पनि दोस्रोपटकमा शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको हो। यो योजनाबाट बैंकका ग्राहकका साथै अन्य सेवाग्राहीले पनि लाभ उठाउन सक्नेछन्।

उक्त विप्रेषण रकम बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ इकाइ एवं १० हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ। यो योजना आउँदा माघ ५ गतेसम्म लागू हुने छ। 

यस योजनाबाट चाडपर्वको समयमा ग्राहकले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा बढी शाखा सञ्जाल भएको बैंकमार्फत सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।