काठमाण्डौ । गैरआवसीय नेपाली संघ (एनआरएनए) समन्वयमा नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम की र लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टबीच भेटवार्ता भएको छ। नेपालमा लगानी भित्र्याउने विषयमा छलफल भएको हो। 

भेटवार्तामा डा. लीले नेपालमा कोरियाका लगानी भित्र्याउन सम्भव रहेको बताउँदै त्यसका लागि बोर्डले पहल गर्न सुझाव दिए। उनले विदेशी लगानी र प्रविधि भित्र्याएर कोरिया विकसित राष्ट्र भएको स्मरण गर्दै नेपालले त्यो वातावरण बनाउनुपर्ने धारणा राखे। 

भेटवार्ताको क्रममा लीले नेपालले पनि कोरियको प्रविधि र लगानी भित्र्याएर विकास गर्न सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि बोर्डको सकारात्मक भूमिका आवश्यक रहेको बताए। 

लगानी बोर्डका सीईओ भट्टले सुरक्षाको ग्यारन्ण्टी सरकारले गरेको बताउँदै ढुक्क भएर लगानीको गर्न आग्रह गरेका थिए। केही कानुनी जटिलता भए त्यसमा आफूहरुले सहजीकरण गर्न तयार रहेको समेत भट्टले बताए। 

कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्षसमेत रहेका लीले आजै प्रभु बैंकका पदाधिकारीसँग समेत छलफल गरेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितको बैठकमा लीले देश विकासमा बैंकहरुको लगानीकर्तालाई आकर्षण गर्न महत्वपूर्ण भूमिका हुने भन्दै त्यसको लागि प्रभु बैंकले भूमिका खेल्न सुझाव दिए। 

छलफलमा सीईओ शेरचनले आर्थिक अवस्था सहज हुँदै गइरहेको भन्दै वैदेशिक लगानीको सुरक्षा वातावरण गर्नेसमेत प्रतिवद्धता जाहेर गरेका थिए। 

दुवै बैठकको समन्वय एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गरेको थियो। संघका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्वन गरेको विकाशको मोडल भित्राएर छिट्टै विकास गर्न सकिने र सोका लागि गैरआवासि नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए। 

छलफलमा एनआरएनएकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, रोप वे नेपालका अध्यक्ष गुणराज ढकाललगायतको सहभागिता थियो।