काठमाण्डौ। गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ। 

१० औँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको हो। दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमति भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएको हो। एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पनि भूमिका खेलेका थिए। 

आइतबार दुवै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री दाहाल र नेता शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन्। सोही अवसरमा प्रधानमन्त्री दाहालले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न केही असहज भएको बताउँदै एकठाउँमा आएको खुसी लागेको बताए। 

प्रधानमन्त्री दाहालले दुईटै विधानलाई परराष्ट्रबाट प्रमाणित गराई एउटै बनाउन सुझावसमेत दिए। 

विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्ष डा बद्री केसी र अध्यक्ष विनोद कुँवरले लामो समयदेखि वार्ता र संवादलाई जारी राखेका थिए। जानकी गुरुङ र डीबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो। उपाध्यक्ष आरके शर्मालगायतको उपस्थिति रहेको थियो। 

परराष्ट्र मन्त्रालयसँग यस्तै परराष्ट्र मन्त्रालय र संघको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैरआवासीय नेपाली संघसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधि, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको छ। 

विभाजन भएको संस्था एकताबद्ध बनाउन ठूलो कार्य भएको र बाँकी कामका लागि परराष्ट्र मन्त्रालयमा छलफल हुने अध्यक्ष कुँवरले जानकारी दिए। 

यस्तो छ सहमतिपत्र