काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनमा केन्द्रीय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख अजेन्डा अगाडि सारेर चुनावी अभियानमा लागेका छन्।

हाल एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैरआवासीय नेपालीहरुको हकहित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मीयता एवं संगठनात्मक एकताका लागि सचिव पदमा उम्मेदवारी दिने निधो गरेको जनाए। अहिले एनआरएनए अग्रज र डेलिगेट्ससँग निकट रहेर काम गरिरहेका सापकोटा चुनावी अभियानकै क्रममा बिहीबार बहराइन पुग्ने कार्यक्रम छ। त्यहाँबाट युरोप भ्रमण गरी अक्टोबर पहिलो साता नेपाल पुग्ने योजना सापकोटाले बनाएका छन्।

आईसीसी सदस्य हुँदै युरोप उपसंयोजकको जिम्मेवारीबाट खारिइसकेका सालिन र स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरुमा यसपटक पनि साथ सहयोग गर्न अपिल गरेका छन्।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका बिहुँकोट ५ देउरालीका सापकोटाले स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाण्डौको शंकरदेव क्याम्पसबाट बीकम गरेका हुन्। अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगेका हुन्। अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहाँ युरोपेली रहन सहन, भाषा, खाना र जीवनशैलीमात्र अनुभव गरेनन्, इटालियन सेफ हुँदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेस्टुरेन्ट खोले।

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ मा बेलायत आइपुगेका थिए। ५ विभिन्न भाषामा दख्खल भएका सापकोटाले यूके लेस्टरमा दुई इटालियन रेस्टुरेन्ट सञ्चालन गरेका छन्। लेस्टर, लन्डन रोडमा सन् २०१३ मा स्थापित ओजीको सफलतापछि उनले गत वर्ष मेल्टन रोड सिस्टन लेस्टरमा बिस्ट्रो ओजी सुरु गरे।

उनी सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय छन्।