काठमाण्डौ । आगामी आइतबारदेखि एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ ।

नेप्सेमा यसअघि नै सूचीकृत भइसकेको किसान माइक्रोफाइनान्स र हालसम्म नेप्सेमा सूचीकृत नभएका एनआरएन लघुवित्त र दिव्य लघुवित्तबीच मर्ज भई एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट दोस्रो बजारमा सेयर कारोबार हुनेछ ।

नेप्सेका अनुसार एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको संकेत एनएलबीएसएलबाट सेयर कारोबार हुनेछ भने आइतबार सो संस्थाको प्रतिकित्ता मूल्य ६६९.६२ रुपैयाँबाट दोस्रो बजारमा कारोबार सुचारु हुने बताइएको छ ।

२०७५ सालमा स्थापना भएको धनगढी कैलालीमा केन्द्रीय कार्यालय रहेको यस एनआरएन लघुबित्त बित्तीय संस्थाले करिब डेढ बर्षको छोटो अवधिमै ५ वटा लघुवित्त वित्तीय संस्थाहरू मर्ज गरेको छ ।

गत भाद्र २०७६ मा २ लघुवित्त रामारोशन लघुबित्त बित्तीय संस्था र  क्रियटिभ लघुबित्त बित्तीय वित्तीय संस्थालाई मर्जर गरेपश्चातको एनआरएनले हाल किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त बित्तीय संस्था मर्जर गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपश्चात यति छोटो अवधिमा सबैभन्दा बढी वित्तीय संस्थाहरू मर्जर गर्ने पहिलो वित्तीय संस्था बनेको छ ।

हाल यस संस्थामा गाभिने किसान माइक्रोफाइनान्स २०६९ मा सञ्चालन भएको कैलालीको बलियामा केन्द्रीय कार्यालय रहेको लुघवित्त वित्तीय संस्था हो भने बनेपा काभ्रेमा केन्द्रीय कार्यालय रहेको दिव्य लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

एनआरएनका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाहका अनुसार एनआरएनको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड ८८ लाख  ४७ हजार  र चुक्ता पूँजी ३९ करोड २८ लाखका साथ कारोबार नेपालभर फैलिएको छ । शाखा कार्यालयको संख्या  १ शय ४२, कर्मचारी संख्या  ५ सय, लगानी ४ अरब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या १ लाख ४४ हजार  र ऋणी सदस्य संख्या ५० हजार ९ शय ९७ पुगेको छ । 

हालसम्म जम्मा ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ भने आगामी १ बर्ष भित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गरी ७७ वटै जिल्लामा कारोबार विस्तार गर्ने तथा हकप्रद शेयर र (एफपीओ )जारी गरी चुक्ता शेयर पूँजी १ अर्ब पुर्याउने संस्थाको योजना रहेको छ।