काठमाण्डौ । विगत २ वर्षदेखि सेयर बजारसँग सम्बन्धित शिक्षालयको रुपमा कार्यरत नेपाल सेयर हब इन्भेष्टमेन्ट कम्पनीले आगामी असोज २० गते नेपाल फाइनान्सियल रिर्पोटिंग स्ट्याण्डर्ड्स( एनएफआरएस) सम्बन्धी वृहत वर्कसप कार्यक्रम आयोजना गर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकको निर्देशनअनुसार ‘क’ वर्गका बैंकहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण एनएफआरएस विधि अनुसार सार्वजनिक गरे पनि यसको बिषयमा चौतर्फी अन्यौल छ । केन्द्रीय बैंकले पूर्व तयारीबिना नै कार्यान्वयनमा ल्याएको एनएफआरएसकै अलमलका कारण वाणिज्य बैंकहरुले गत वर्षजस्तो समयमै लाभांश घोषणा गर्न समेत पाएनन् । 

एनएफआरएसले बित्तीय क्षेत्रमा सिर्जना गरेको यही अन्यौललाई चिर्न नेपाल सेयर हबले विज्ञहरुलाई सहभागी गराएर वृहत वर्कसप आयोजना गर्न लागेको हो । 

कार्यक्रममा एनएफआरएस र यो विधि अनुसार बैंकहरुको त्रैमासिक वित्तीय विवरणलाई बुझ्ने र विश्लेषण गर्ने बिषयमा विशेष प्रस्तुती सिए कृष्ण निरौलाले दिनेछन् । 

एनएफआरएसको बिषयमा आयोजना हुने वर्कसप विशेष गरी लगानीकर्ताका लागि निकै उपयोगी हुने नेपाल सेयर हब्का प्रमुख कार्यकारी अधिकृत नारायण देशारले जानकारी दिएका छन् । 

वर्कसपमा सेयर बजारको बिषयमा फण्डामेन्टल र टेक्निकल कोणको विशेष विश्लेषणसहितको प्रस्तुती नेपाल सेयर हबमा रहेको विज्ञहरुको टिमले दिनेछ । 

यस्तै, सो कार्यक्रममा केही सफल लगानीकर्ताले आफ्नो प्रस्तुती तथा लगानी रणनीतिको बिषयमा समेत खुलेर कुरा गर्नेछन् । यसले नयाँ लगानीकर्ताका लागि राम्रो मार्गनिर्देशन दिनसक्ने सेयर हबको दाबी छ । 

कार्यक्रममा लगानीकर्तालाई बैंकहरुको एनएफआरएस रिपोर्टमा आधारित रही कम्पनीको विश्लेषण कसरी गर्ने भन्ने बिषयमा खास ज्ञान दिइनेछ भने बजारको वर्तमान अवस्था तथा भविष्यको बिषयमा प्रक्षेपण लगायतका बिषयमा समेत विज्ञहरुले चर्चा गर्नेछन् । 

एनएफआरएसको बिषयमा यस्तो कार्यक्रम खासै नभएकोले लगानीकर्ताले नेपाल सेयर हबको यो कार्यक्रममा गएर सहभागिता जनाउनु नै उपयुक्त देखिन्छ । 

कार्यक्रम असोज २० गते शनिवारको दिन बिहान ११ बजेदेखि सुरु हुनेछ । ललितपुरको बार एशोसिएसनमा कार्यक्रम आयोजना गरिने सेयर हबले जनाएको छ ।