काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ।

यस सहकार्यअन्तर्गत बैंकले दिगो रुपमा लघु, साना र मझौला व्यवसायहरु (एमएसएमइज) का लागि वित्तीय पहुँच बढाउनेछ। यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरुमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवर्द्धन गर्नेछ।

यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेस ५ वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो। जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरु बढाउन विश्वव्यापी पुँजीकरण एकीकृत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पुर्याउँदछ। 

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।   

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।