काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिकस्तरीय दुईदिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला २०८०–८१ पोखरामा  आयोजना गरेको छ। 

कार्यशालामा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, केन्द्रीय कार्यालयबाट सबै विभागीय प्रमुख तथा विभागमा आबद्ध कर्मचारीहरु, ७ वटै प्रदेशका प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालयअन्तर्गतका क्षेत्रीय स्टेसनमा कार्यरत क्षेत्रीय प्रबन्धकहरु गरी करिब ४५ जना कर्मचारीको सहभागिता थियो। 

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै २ दिने कार्यशालाको उद्देश्य र महत्वबारे सहभागीलाई जानकारी गराएका थिए। 

जेठ ५ गतेदेखि ६ गतेसम्म आयोजित कार्यशालामा ७ वटै प्रदेशका प्रादेशिक कार्यालय र सोअन्तर्गतका क्षेत्रीय स्टेसनहरुको लक्ष्य तथा प्रगति, भावी योजना, अनुभव आदान–प्रदान, आर्थिक वर्ष २०७९–८० असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्ष २०८०–८१ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा व्यवस्थापन, शाखा सञ्चालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रबन्धकको भूमिका, शाखा अनुगमन, व्यावसायिक रणनीति तथा कृषिमा आधारित नयाँ कर्जा प्रोडक्टसम्बन्धी विषय, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, भाखा नाघेको कर्जा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, इन्टरनल कन्ट्रोल एन्ड अडिट सिस्टम, निरीक्षणका क्रममा देखिएका कैफियत र ग्राहक सदस्यसँग गर्ने व्यावसायिक व्यवहार र सम्बन्धलगायत समसामयिक विषयवस्तुमा विभागीय प्रमुखबाट प्रशिक्षण दिइएको थियो। 

यसका साथै संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीबाट नियामक निकायबाट जारी निर्देशन, भावी योजना रणनीति तथा अन्य समसामयिक विषयमा उत्प्रेरित गर्दै कर्मचारीलाई मार्गनिर्देशन गरेका थिए। 

अन्त्यमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यशालामा सहभागी सबैलाई आवश्यक उत्प्रेरणा र मार्गनिर्देशनसहित कार्यशालाको समापन गरिएको छ। 

संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जामा केन्द्रीय कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा उपशाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब १ लाख २० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।