काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको इकाइमूल्य समायोजन भएको छ। 

गत आर्थिक वर्षका लागि घोषित प्रतिफलका लागि एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फन्ड एल–१ को इकाइमूल्य समायोजन गरिएको हो। समायोजित मूल्यअनुसार प्रतिइकाइ एनएमबि फिफ्टीको १२.५३ रुपैयाँ र एनएमबि हाइब्रिड फन्ड एल–१ को ११.८० रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यी दुवै योजनाको प्रतिइकाइ क्रमशः १५.५३ रुपैयाँ र १३.८० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै योजनाका इकाइहरु कारोबारमा आउनेछन्।

यी दुवै योजनाको प्रतिफल वितरण प्रयोजनार्थ योजना व्यवस्थापक एनएमबि क्यापिटलले आज भदौ १८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ १७ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाका लागि घोषित प्रतिफल पाउनेछन्। 

गत आर्थिक वर्षका लागि एनएमबि फिफ्टीका इकाइधनीहरुलाई ३० प्रतिशत (करसहित) र एनएमबि हाइब्रिडका इकाइधनीहरुलाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।