काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको गत आर्थिक वर्षका लागि घोषित प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाइने भएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले आज एक सूचना प्रकाशित गरी एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन सुरु गरिने जानकारी गराएको हो। जसअनुसार हाइब्रिड फन्ड एल–१ को प्रतिफल आज असोज ६ गतेबाट र एनएमबि फिफ्टीको भोलि असोज ७ गतेबाट इकाइधनीहरुको बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट एनएमबि हाइब्रिड फन्ड एल–१ का इकाइधनीहरुलाई २० प्रतिशत र एनएमबि फिफ्टीका इकाइधनीहरुलाई ३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ। प्रतिफल पाउन हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाइ जम्मा भई नसकेका इकाइधनीहरुले एनएमबि क्यापिटलमा सम्पर्क गरी आफ्नो हितग्राही खातासँगै बैंक खाता नम्बर अद्यावधिक गराउन पनि क्यापिटलले आग्रह गरेको छ।

बैंक खातामा प्रतिफल जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसारको कुनै शुल्क लाग्ने भएमा सो शुल्क इकाइधनीले नै व्यहोर्नुपर्ने क्यापिटलले जनाएको छ। 

यसैगरी आफ्नो इकाइ धितो राखेका इकाइधनीको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र अनिवार्य पेस गरेपछि मात्र बैंक खातामा जम्मा गरिने पनि एनएमबि क्यापिटलले स्पष्ट पारेको छ।