काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २०७८ चैत्र २३ गते बुधबारको दिन अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। 

बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। 

बैंकको कार्ड प्रयोगकर्ताले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु. १ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु। १ हजार ५०० को छुट प्राप्त गर्न सक्नेछन्। 

उक्त छुट प्रप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ। बैंकले ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सहजै सक्रिय गर्न सकिने र क्रेडिट कार्ड सरल प्रक्रियाबाट प्राप्त हुने जानकारी गराएको छ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो। तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास दराजले लिएको छ।

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।