काठमाण्डौ । एनएमबि बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड. तथा मोदी जलविद्युत कम्पनी लिमिटेडबीच ४२ मेगावाट क्षमताको कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकास्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न सर्त तथा समझदारीसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ। 

यो आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको हो। मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहनेछ। माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत रु. ९ अर्ब ८ करोड रहने जानकारी गराइएको छ। 

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ। 

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। उक्त पत्रिकाद्वारा एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।