काठमाण्डौ । एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ सुरुआतको घोषणा गरेको छ। यो योजना वैशाख २ गतेदेखि असार ३२ गतेसम्म लागू हुनेछ। 

बैंकले प्रदेश १ का लागि पाथिभारा व्यवसायिक कृषि कर्जा, मधेश प्रदेशका लागि मधेश व्यावसायिक कृषि कर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषि कर्जा, गण्डकी  प्रदेशका लागि गण्डकी व्यावसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि व्यावसायिक कृषि कर्जा, कर्णाली प्रदेशका लागि कर्णाली व्यावसायिक कृषि कर्जा र सुदूरपश्चिम प्रदेशका लागि सुदूरपश्चिम व्यावसायिक कृषि कर्जा योजना ल्याएको छ। 

यस कर्जा योजनाअन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, बीमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ।  

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यका रूपमा एनएमबि बैंकले कृषि फाइनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरुमध्ये एक हो। दीर्घकालीन रणनीतिक उद्देश्यअनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय–समयमा यस्ता योजना प्रस्तुत गर्दै आइरहेको छ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।