काठमाण्डौ । एनएमबि बैंकले सर्लाहीको लालबन्दीका तरकारी उत्पादक कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। 

तालिममा तरकारी उत्पादक समूहका करिब १५० जना कृषकको उपस्थिति थियो। बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित तालिममा उपस्थित कृषकलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाका विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो। यसका साथै किसानहरुसँग अन्तर्क्रियासमेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुणकुमार आचार्यले गरेका थिए। 

सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनका लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रका करिब १ हजार ५०० किसान प्रत्यक्ष रुपमा व्यावसायिक तरकारी खेतीमा लागेका छन्। 

यस क्षेत्रमा उत्पादित तरकारी काठमाण्डौ, पोखरा, विराटनगर, नारायणगढलगायतका विभिन्न सहरमा पठाइने गरिन्छ। 

यो कार्यक्रमले यहाँका किसानमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ। 

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।