काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनएमबी बैंकमा गाभिने सम्झौता गरेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार सोमबारदेखि रोक्का गरेको छ ।

दुवै बैंकले आपसमा गाभ्ने गाभिने आइतबार समझदारी गरेका थिए । नेप्सेले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् । 

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ । 

यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदन गर्न सक्षम हुने विश्वास लिइएको छ ।

कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूरपश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो । 

एनएमबी बैंकले विगत २५ वर्षदेखि कारोबार गर्दै आइरहेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले १० वर्षदेखि बैंकिङ सेवा दिंदै आएको छ ।