काठमाण्डौ । एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

संस्थाले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरेको थियो । त्यस क्रममा खरिद आवेदन नपरेका सर्वसाधारण समूहतर्फको १ लाख ८ हजार ७३३.१३ कित्ता सेयर संस्थाले लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

संस्थाको लिलामी सेयर खरिद गर्न शिलबन्दी बोलपत्र माघ ५ गतेदेखि पेस गर्न सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम माघ १० गतेसम्म तोकिएको छ ।लिलामी सेयरका लागि न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दामाथि बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै हद लाग्ने छैन ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल लिमिटेड, कास्कीको पोखरास्थित मिलनचोकमा रहेको एनएमवि लघुवित्त वित्तीय संस्थाको कार्यालय र सनराइज बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ ।