– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) को आज बसेको बैठकले वाणिज्य बैंकहरुले ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित वित्तीय संस्थालाई नै हुने निर्णय गरेको छ।
संघले नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार अघिल्लो महिनाको औसत ब्याजदरमा १० प्रतिशतले मात्र बढाएर नयाँ दर सार्वजनिक गर्न सकिने व्यवस्थाअनुरुप नयाँ दर तय गरिएको पनि प्रस्ट पारेको छ।
ब्याजदर र तरलताको प्रत्यक्ष असर सेयर बजारमा हुने गरेको छ। विगत केही दिनदेखि नेपाली सेयर बजार घट्दो क्रममा छ। वित्तीय जानकारहरु अहिले बजारमा प्रत्यक्ष असर तरलता संकटको परेको बताउँदै आएका छन्।
नेपालको अर्थतन्त्रमा तरलताको चाप उच्च भएको बेला बैंकहरुले ब्याजदर बढाउने निर्णयले बजारमा कस्तो असर गर्ला ? भन्ने आमलगानीकर्तामा चासोको विषय बनेको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल समयको चक्रअनुसार ब्याजदर बढ्ने र घट्ने गरेको बताउँछन्। ‘ब्याजदर सधैँ सस्तो हुन्छ भन्ने हुँदैन। समयअनुरुप तल–माथि हुनु स्वाभाविक हो’, उनले भने।
राष्ट्र बैंकको सर्कुलरपछि महिनौँ सम्म स्थिर रहेको ब्याजदर बढ्छ भन्ने धेरै लगानीकर्तालाई थाहा थियो। ‘त्यसैले धेरै लगानीकर्तामा अब ब्याजदर बढ्छ भन्ने मनस्थिति बनेको पाइन्छ। त्यसैले बजारलाई दीर्घकालीन रुपमा त्यति ठूलो असर नगर्ला’, उनले भने।
‘केही दिनमा सरकारको चुनावी खर्च हुने देखिन्छ’, ढकाल भन्छन्, ‘गृहले चुनावका लागि रु. १९.५ अर्ब मागेको अवस्था छ। त्यस्तै निर्वाचन आयोगले १२ अर्बका साथै १ लाख म्यादी प्रहरी भर्ना हुने भनिएको छ।’
राष्ट्र बैंकले पनि आयातमा कडाइ गर्दै सर्कुलर जारी गरेको ढकालले बताए। ‘त्यसैले केही दिनहरुमा तरलता सहज हुने देखिन्छ’, उनले भने, ‘तरलता सहज भएसँगै ब्याजदर पनि सहज बन्दै जान्छ।’
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ब्याजदर बढ्नु समग्र लगानीकर्ता र सेयर बजारका लागि ब्याड न्युज बनेको बताइन्। ‘अहिले तरलता असहज भएको अवस्था छ। यसको असर बजारमा भएको देखिन्छ। यस्तो बेला ब्याजदर बढ्नु बजारका लागि झन् ब्याड न्युज बनेको छ’, उनले भनिन्।
ब्याजदर र बजार एक अर्काको परिपूरक हो। ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने गरेको देखिन्छ। ‘त्यसैले एनबीएको उक्त निर्णयले बजारलाई केही दिन प्यानिक बनाउने देखिन्छ’, उनले भनिन्।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की एनबीएको ब्याजदर बढाउने निर्णयले पुँजीबजारमात्र नभएर समग्र अर्थतन्त्रलाई नै असर गर्ने बताउँछन्। ‘ब्याजदर बढाउँदैमा निक्षेप बढ्ने अवस्था छैन। अघिल्लोपटक पनि बैंकहरुले ब्याजदर बढाउँदा एक–अर्काको निक्षेप तानातान गर्ने अवस्था सिर्जना भएको थियो’, उनले भने।
कोभिडले समग्र अर्थतन्त्रलाई नै असर गरेको बेला बैंकहरुको ब्याजदर बढाउने निर्णयले महँगीका साथै लागत बढ्ने भएकाले लगानीकर्तामात्र नभएर समग्र उद्योगधन्दा, व्यापार, व्यवसायी र अर्थतन्त्रलाई नै असर गर्ने कार्कीको भनाइ छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago