काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनएलजी इन्स्योरेन्सले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता ६६५.४२ रुपैयाँ कायम गरिएको छ। यो कम्पनीको यसअघिको अन्तिम कारोबारमा प्रतिकित्ता ७१२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउने छ। 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि ७ प्रतिशत बोनस सेयरसहित कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ०.३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश आउँदो मंसिर ५ गते काठमाण्डौको पानीपोखरीस्थित कमपनीको रजिस्टर्ड कार्यालयमा हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभाका लागि कम्पनीले आज (कात्तिक २५ गते) बुक क्लोज गरेको छ। यसको अर्थ हिजो (कात्तिक २४ गते) सम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।