काठमाण्डौ। दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाले  सेयर खरिदबिक्रीमा नेपालको कानूनको पूर्ण पालना गर्ने बताएको छ ।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद बिक्रीमा कम्पनीले नेपालको  कानून पालन गर्न तयार रहेको उल्लेख गरेको बताए । बुधबार बसेको अर्थ समितिको बैठकमा खनालले एनसेल खरिदबिक्री प्रकरणबारे उक्त धारणा राखेका हुन् ।

गत मंसिर १५ गते प्राधिकरणले सेयर खरिदबिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भएपनि प्राधिकरणले एनसेल आजियाटालाई पत्रलेख्दै सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था स्मरण गराएको थियो । 
आजियाटा ग्रुप बरहदले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर) मा बिक्री गर्ने सम्झौता गरेपछि विवाद सृजना भएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत सेयर खरिद गर्ने सम्झौता गरेको हो ।

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतीशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत सेयर भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आचार्य समूहकै शतप्रतिशत सेयर स्वामित्व कायम हुने देखिन्छ ।

यो विषयमा सरकारले छानबिन गर्ने बताइसकेको छ । मलेसियाली टेलिकम जायन्ट आजियाटा ग्रूपले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको विषयमा सरकारले छानबिन थालेको हो । 

अर्थमन्त्री डा प्रकाशशरण महतले पनि एनसेलको सेयर विक्री प्रकरणबारे सरकारले विस्तृत छानबिन थालेको बताएका छन् ।

सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध हुँदैन : एनसेल

कम्पनीले सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध नहुने बताएको छ। कम्पनीले एक सूचना जारी गर्दै सेयरधनी परिवर्तन भएपनि हाल प्रदान गरिँदै आएका सेवा र सुविधामा कुनै अवरोध नपर्ने उल्लेख गरेको छ ।

कम्पनीले १८ वर्ष जसरी नै आगामी दिनमा पनि उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीले कुल १ करोड ६० लाख प्रयोगकर्ता तथा साझेदार रहेको पनि उल्लेख गरेको छ।


एनसेलले प्राधिकरणलाई पठाएको यस्तो छ पत्र :