काठमाण्डौ । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्ने दिशामा सरकारलाई योगदान पुर्‍ याउन प्रतिबद्ध रहेको बताएको छ ।

साथै कम्पनीले सेयरहोल्डिङका बारेमा थप प्रकाश पार्न चाहेको पनि उल्लेख गरेको छ । स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका सेयरधनी सतिश लाल आचार्यले भनेका छन्, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स ९सेन्ट किट्समा रहको कम्पनी० मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो ।’

उनका अनुसार सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेतामार्फत् निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँटको रूपमा प्राप्त गर्नेछ । यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउने छ ।

कम्पनीले आजको दिनसम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको पनि उल्लेख गरेको छ ।

साथै उसले यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार यसको पालना गरिने र यस प्रक्रियामा एनसेल कर कानूनको पालना गर्न प्रतिबद्ध रहेको र आफ्ना सम्पुर्ण सरोकारवालाहरुलाई एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने सुनिश्चित गराउन चाहेको पनि बताएको छ ।

साथै उसले आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको पनि बताएको छ ।

जारी प्रेस विज्ञप्तिमा कम्पनीमा केही परिवर्तनहरु भइरहेको बेला आफ्ना ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहेको र एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख छ ।

कम्पनीले लाखौं नेपालीहरुको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न तयार रहेको उल्लेख गर्दै मोवाइल कनेक्टिभीटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरु प्रदान गर्न नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता  दिने र यससँगै देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरु पनि सिर्जना  हुने बताएको छ ।