काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्री कानून विपरित तरिकाले भए कारबाही हुने बताएका छन् ।

उनले यसमा कहिँ न कहिँ गडबडी भएको ठानेर छानबिन समिति समेत बनाएको पनि बताए । उनले छानबिन समितिबाट देखिएका निष्कर्षका आधारमा सरकारले हदैसम्मको कारबाही गर्ने पनि स्पष्ट पारे ।


राज्य व्यवस्था समितिको बैठकमा मंगलबार बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चालिन्छ । दोषी भए हदैसम्म कारबाही हुन्छ ।’

साथै उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र करछलिको कुरा सञ्चारमाध्यममा प्रकाशमा आएपछि छानबिनमा लागेको बताए ।

यसैगरी, उनले दूरसञ्चार प्राधिकरणका अधिकारीहरूसँगकै सल्लाहमा छानबिन समिति गठन गरिएको र एक महिनाको कार्यादेश दिइएको पनि बताए ।