काठमाण्डौ । बुटवल पावर कम्पनीको एफपीओ खरीद गर्ने लगानीकर्ताहरुले कम्पनीले आगामी केही दिनभित्र घोषणा गर्ने लाभांश समेत पाउने भएका छन् । 

कम्पनीका फाइनान्सतर्फका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बिजशालासँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । 

बुटवल पावर कम्पनीले निश्कासन गरेको एफपीओको बुधबार बिहान बाँडफाँड भएको थियो । सो क्रममा एफपीओ पाएका लगानीकर्ताहरुले मंगलबार बजार बन्द हुँदाको मूल्यसँग तुलना गर्दा प्रतिकित्तामा ३३ रुपैयाँ घाटा खाएका छन् । घाटा व्यहोरेरै पनि आवेदन दिएपछि एफपीओ स्वीकार गर्नुपर्ने बाध्यतामा परेका लगानीकर्ताको मनोबल बढाउनका लागि गत आर्थिक वर्षको नाफाबाट घोषणा हुने लाभांश उनीहरुलाई समेत दिइने श्रेष्ठले जानकारी दिए । 

'मनोबल कमजोर भएका लगानीकर्ताको हित हेरेर गत वर्षको नाफाबाट घोषणा हुने लाभांश एफपीओ पाएका सेयरधनीले पनि पाउनेछन् ।' श्रेष्ठले भने-'गत वर्ष हामीले ७ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएका थियौं । यो वर्ष पनि त्यो लाभांश नघट्ला ।' 

कम्पनीस्थित अर्को एक स्रोतका अनुसार एफपीओ खरीद गर्ने लगानीकर्ताको हितलाई समेत ध्यान राखेर गत आर्थिक वर्षको नाफाबाट बुटवल पावर कम्पनीले बोनस सेयरमा बढी जोड गर्नेछ । २० प्रतिशतकै दरले बोनस सेयर आए पनि त्यसले लगानीकर्तालाई केही राहात हुने विश्वास गरिएको छ।