काठमाण्डौ । प्रविधिमार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल २० औँ वर्षमा प्रवेश गरेको छ।

डिजिटल वित्तीय सेवा पुर्याउने उदेश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो। १९ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रुपमा स्थापित हुन सफल भएको हो। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको छ। 

सुरुमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोनजस्ता निकै रुचाइएका प्रविधिहरु निर्माण गरिसकेको छ। 

यस्तै एफवान सफ्टले इसेवा र फोनपेजस्ता मोबाइलमार्फत हुने भुक्तानीको समेत विकास गरेको छ। कम्पनीमा हाल १ हजार २ २०० भन्दा बढी दक्ष जनशक्तिले रोजगारी पाएका छन्। यो २० वर्षको अवधिमा कम्पनीले नेपालको डिजिटल फाइनान्सियल क्षेत्रमा टेवा पुर्याउन ठूलो भूमिका खेलेको छ। 

१९ वर्ष पूरा भई २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुको अर्थतन्त्रलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ। हामीले डिजिटल नेपाल बनाउँदै इकोनोमीलाई नै डिजिटलाइज गरी देशको जीडीपीमा ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेका छौँ। यसका लागि हामीले आगामी दिनमा अझ मेहनतका साथ अत्याधुनिक प्रविधि निर्माणमा सशक्त रुपमा लाग्नेछौँ।’

एफवान सफ्ट ग्रुपअन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन्। एफवान सफ्ट ग्रुपअन्तर्गत इसेवा, फोनपे, इसेवा मनी ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिकाजस्ता प्रविधिमा अग्रणी कम्पनी सञ्चालित छन्। यी कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन्। 

नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन्। कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा १ करोड ५० लाखभन्दा धेरै रहेका छन्। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोगसमेत गर्दै आएको छ।