काठमाण्डौ । सफ्टवेयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेसनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन्। 

१६ वर्षभन्दा लामो बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेसनलमा आबद्ध भएका हुन्। उनीसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेसन हेड र कार्ड एन्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ। नविल बैंकमै उनले टेक्नोलोजी एन्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए। 

यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए। यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ। 

एफवान सफ्टमा पौडेलको आबद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नवीनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ। 

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। 

एफवान सफ्ट गु्रपअन्तर्गत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन्। एफ्वान सफ्टअन्तर्गत इसेवा, फोनपे, इसेवा मनी ट्रान्सफर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, बससेवालगायतका स्थापित कम्पनी रहेका छन्। 

नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइबर बैंकिङलगायसका सोलुसन प्रयोग हुँदै आएका छन्। एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआबद्धतताका रुपमा कार्य गर्दै आएको छ। 

नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ।