काठमाण्डौ । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेन्जमेकरको सूचीमा परेका छन्।

ढकाल ग्लोबल टेक चेन्जरहरुको ‘रेस्ट अफ वर्ल्ड’को १०० जनाको सूचीमा पर्न सफल भएका हुन्। विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका १०० जनालाई यो सूचीमा समावेश गरिन्छ।

ढकालले सामूहिक रुपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरुको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेस्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ। 

रेस्ट अफ वर्ल्डको सूचीमा विश्वव्यापी रुपमा आधारित रिपोर्ट र सम्पादकको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ। टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ। 

यो सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारी, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ता, उदीयमान उद्यमी र खुला एवं समतामूलक भविष्यका लागि काम गर्ने व्यक्तिहरुलाई समावेश गरिन्छ।

सूचीमा समावेश भएपछि अध्यक्ष ढकालले भने, ‘मैले सधैँ मेरो देशमा आमूल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्समार्फत सशक्त बनाइन्छ।’ 

‘रेस्ट अफ वर्ल्ड’ले आफ्नो परिकल्पनालाई पहिचान गरेर सूचीमा समावेश गरेकोमा आभार व्यक्त गर्दै ढकालले भने, ‘म विश्वस्त छु कि यसले सार्थक परिवर्तन ल्याउन सहयोग गर्नेछ।’ 

यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् भने अमेरिकी राज्य विभागले इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसकेका छन्। 

‘रेस्ट अफ वर्ल्ड’ सूचीले स्थानीय नवप्रवर्तन र विश्वव्यापी प्रचलन, तिनका प्रभावहरुबीचको विन्दुहरु जोड्ने विश्वको बाँकी लक्ष्यलाई प्रतिविम्बित गर्दछ। विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारसँग साझेदारी गर्दै रेस्ट अफ वर्ल्डले विगत २ वर्षमा ९० भन्दा धेरै देशबाट ७५० भन्दा धेरै प्रकाशन प्रकाशित गरिसकेको छ। 

रेस्ट अफ वर्ल्डका कार्यकारी सम्पादक अनुप काफ्लेले भने, ‘अहिले सबैभन्दा रोमाञ्चक र नवीन आविष्कार पश्चिमा देश बाहिर भइरहेको छ।’ 

‘जुनसुकै क्षेत्रमा पनि उद्यमी बन्न गाह्रो छ। तर, उदीयमान अर्थतन्त्रहरुमा केही कुरा निर्माण गर्दा वित्तीय एवं राजनीतिक चुनौती भएपनि ती शक्तिहरुले हीरा बनाउँछन्’, काफ्लेले भने, ‘हामी विश्वास गर्छौं कि हाम्रो टोलीले रेस्ट अफ वर्ल्डको सूचीका लागि चयन गरेका नेतृत्वहरु छिटो, थप नवीन, अधिक विचारशील र नयाँ विचारहरु निर्माण गर्न अग्रसर छन्।’ 

रेस्ट अफ वर्ल्डले यही मे १२ मा विश्वव्यापी भर्चुअल प्यानल शृंखला घोषणा गर्दैछ। २४ घन्टाभित्र विश्वभर फैलिएका तीनवटा छुट्टाछुट्टै प्यानलका सदस्यहरुले प्रभावशाली रोस्टर प्रस्तुत गर्नेछन् र एउटै विषयवस्तुमा छलफल गर्नेछन्, ‘के कतै अब स्थानीय छ ?’ यो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ र रेकर्डिङहरू जततउकस्ररचभकतयाधयचमि।यचनरभखभलतकरचयधज्ञण्ण्र।  मा उपलब्ध हुनेछ। 

ढकाल एक टेक उद्यमी, आविष्कारक र गतिशिल लगानीकर्ता हुन्। उनी एक उद्यमी बन्ने चाहनाले उत्प्रेरित भएर टेक्नोजोजीप्रति लगाव राखेकै कारण एक उल्लेखनीय यात्रामा छन्, जुन नेपालका युवाहरुका लागि प्रेरणा हो। ढकाल र उनका साथीहरुले एफवान सफ्टमा विकास गरेका फिनटेक समाधानहरु देशका हरेक कुनामा पुगेका छन् र आज डेढ करोडभन्दा धेरै मानिसलाई सेवा प्रदान भइरहेको छ। 

एफवान सफ्ट गु्रपमा एफवान सफ्ट इन्टरनेसनल, इसेवा, फोनपे, इसेवा मनी ट्रान्सफर, एक्स्टेन्सो डाटाजस्ता धेरै नवीन कम्पनीहरु समावेश छन्। 

ढकालेले आफ्नो व्यवसायलाई विश्वभर विस्तार गर्ने योजना पनि सुनाए। 

रेस्ट अफ वर्ल्ड एक अन्तर्राष्ट्रिय पत्रकारिता गर्ने संस्था हो। जुन पश्चिमी क्षेत्रभन्दा बाहिर अर्थात् अमेरिका र पश्चिमी युरोपबाहिर प्रविधि क्षेत्रमा भएका नवीन समाचार तथा समाचारमूलक कथाहरु समेटेर प्रकाशन गर्न समर्पित छ। यसमा कम्पनी, संस्थापक, राजनीतिज्ञलगायतका स्टोरी, प्रोफाइल तथा समाचारमूलक लेखहरु प्रकाशित हुन्छन्।