काठमाण्डौ । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल प्रालिले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत एफवान बैंकर्स मिटअप–२०२३ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो। कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी व्यक्तित्वहरुको सहभागिता थियो।

कार्यक्रममा एफ्वान सफ्टका तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि, मोबाइल बैंकिङमा प्रयोगकर्ताको विकास र विश्वास, आममानिसले मोबाइल बैंकिङलाई कुन रुपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो। यसका साथै कार्र्यक्रममा पछिल्ला २ वर्षमा डिजिटल माइक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो। 

कार्यक्रममा आगामी दिनमा बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।

राजधानीको याक एन्ड यती होटेलमा आयोजना भएको उक्त कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रममध्ये बंैकर्स मिट अप एक हो। यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुसी लागेको छ। हामीले बैंकिङ उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रा लागि महत्वपूर्ण छ। यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौँ।’

एफवान सफ्ट इन्टरनेसनल डिजिटल बैंकिङ र वित्तीय क्षेत्रमा प्रविधिमार्फत सेवा प्रदान गर्ने अग्रणी फिनटेक कम्पनी हो। सन् २००४ मा स्थापना भएको यस कम्पनीले प्रविधिमार्फत बैंकिङ क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै बैंकिङ भुक्तानी प्रणाली तथा यस क्षेत्रलाई प्रविधिमा आवश्यक पर्ने थप अनुसन्धान तथा प्रयोग गर्दै आइरहेको छ। कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको इकोस्टिम निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले डिजिटल अर्थतन्त्रका लागि नयाँ–नयाँ किसिमका प्रविधिको विकास गर्दै आइरहेको छ। 

हाल एफवान ग्रुपअन्तर्गत इसेवा, फोनपे, इसेवा मनी ट्रान्सफर, बससेवा, दियालो टेक्नोलोजिजलगायतका दर्जनौँ कम्पनी सञ्चालनमा रहेका छन्।