काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स लिमीटेडले आज(मंसिर १६ गते)देखि १०५ प्रतिशतको दरले संस्थापक हकप्रद सेयर निश्कासन गरेको छ ।

यो कम्पनीको हकप्रदमा पुस २२ गतेसम्म सेयरधनीले आवेदन दिन पाउनेछन् । अहिले निष्काशन गरिएको सबै शेयर संस्थापक शेयर कायम हुनेछ ।

यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । 

यो कम्पनीको कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड ४ को रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

हाल यो कम्पनीको चुक्तापूँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । १०५ प्रतिशत हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी २७ करोड ३९ लाखको उचाईमा पुग्नेछ ।

यसपछि यो कम्पनीले सर्वसाधारण र संस्थापक सेयरधनीकै लागि ३०० प्रतिशतको दरले पुनः हकप्रद सेयर निश्कासनको योजना बनाएको छ । ३०० प्रतिशत हकप्रद जारी भइसकेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोडको उचाईमा पुग्नेछ ।