काठमाण्डौ । एभरेष्ट बैंकको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज भदौ १ गते अन्तिम दिन रहेको छ। 

गत साउन १८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ। 

बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ४० लाख इकाइ सामूहिक लागानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ। 

बैंकको यो ६ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।