काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले रु. ४ करोडबराबरको अग्राधिकार सेयर सर्वसाधारणसभा परिणत गर्ने भएको छ ।

बैंकले १२ वर्षअघि सर्वसाधारण सेयरमा परिणत हुने गरी २० करोड रुपैयाँको अग्राधिकार सेयर निष्कासन गरेको थियो । त्यतिखेर बैंकले हरेक तीन वर्षमा २० प्रतिशतका दरले अग्राधिकार सेयर सर्वसाधारणमा परिणत गर्ने गरी अनुमति पाएको थियो ।

सोहीअनुरुप बैंकले यो वर्ष उक्त मूल्यबराबरको अग्राधिकार सेयर असोज ९ गते सर्वसाधारणका लागि परिणत गर्न लागेको हो । अग्राधिकार सेयरको अन्तिम कारोबार असोज १ गते हुने बैंकले उल्लेख गरेको छ ।

बैंकले यसअघि तीनपटकमा रु. १२ करोडको अग्राधिकार सेयरलाई सर्वसाधारणमा परिणत गरिसकेको छ । अबको तीन वर्षपछि बैंकले बाँकी रु.४ करोडको साधारण सेयर पूँजीमा परिणत गर्नेछ ।

हाल डिम्याट खातामा कायम रहेको अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्नुपूर्व नै पुरानै कित्तामा कारोबार हुने अवस्था रहेको छ । यस्तो अवस्थामा नियामक निकायमा आवश्यक दर्ता प्रक्रिया पूरा गरी डिम्याट खाताबाट घटाउन वा बढाउने प्रयोजनार्थ असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयरको कारोबार बन्द गर्न बैंकले अनुरोध गरेको छ ।